दैलेख, असार २७ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछाममा फेला परेको छ। यो सम्बन्धी जानकारी दिँदै प्रहरीले दुर्घटनामा मृत्यु भई सनाखत हुनेको सङ्ख्या चार पुगेको जनाएको छ।
शनिबार अछामको तुर्माखाँद गाउँपालिका–२, लामगडास्थित कर्णाली नदी किनारमा शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दा उक्त शव सुर्खेतको पञ्चपुरी नगरपालिका–८, माझीगाउँ निवासी करिब ३० वर्षीय चालक तुलाराम सुवेदीको रहेको पुष्टि भएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार शवको पहिचान मृतकका बुबा डण्डपाणि सुवेदीले गर्नुभएको हो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि सुर्खेत पठाउने तयारी गरेको जनाएको छ। दुर्घटनामा हालसम्म चार जनाको शव फेला परिसकेको छ भने बेपत्ता अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब पाँच सय मिटर तल कर्णाली नदीमा खसेको थियो।
