दाङ, साउन ४ गते । दाङमा अझै १५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ। अहिलेसम्म जिल्लामा २८ हजार ३८५ हेक्टर क्षेत्रफल अर्थात् करिब ८५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो।
उहाँका अनुसार देउखुरी क्षेत्रका अधिकांश स्थानमा धान रोपाइँ सकिएको छ। तर दाङ उपत्यका तथा वर्षाको भरमा खेती हुने केही क्षेत्रमा अझै रोपाइँ जारी छ। घोराहीको नारायणपुर, तुलसीपुर उपमहानगरपालिकाको दक्षिणी क्षेत्र, दंगीशरण, शान्तिनगर, बबई र बंगलाचुली गाउँपालिकाका वर्षामा निर्भर किसानले अझै रोपाइँ गरिरहेको उहाँले बताउनुभयो।
पछिल्ला केही दिनदेखि वर्षा हुन थालेपछि किसानले रोपाइँलाई तीव्रता दिएका छन्। “सिँचाइ सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ,” प्रमुख भण्डारीले भन्नुभयो, “तर पर्याप्त वर्षा नहुँदा वर्षामा निर्भर क्षेत्रका किसानले ढिलो गरी रोपाइँ गर्नुपरेको हो। अहिले घोराही, तुलसीपुर, बंगलाचुली, दंगीशरणलगायत पश्चिम दाङका विभिन्न स्थानमा किसान रोपाइँमै व्यस्त छन्।”
उहाँका अनुसार मौसम अनुकूल रहेमा आगामी साउन १० गतेसम्म जिल्लाभर धान रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दाङमा ३४ हजार ४२३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ। त्यसमध्ये ३३ हजार ३९० हेक्टर अर्थात् करिब ९५ प्रतिशत क्षेत्रफलमा धान खेती हुने प्रक्षेपण गरिएको प्रमुख भण्डारीले बताउनुभयो।
यता, दंगीशरण गाउँपालिका–५, डाँडाचिसका किसान अंगलाल चौधरीले गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ ढिलो भएको बताउनुभयो। “केही पटक पानी परे पनि रोपाइँ गर्न पुग्ने गरी निरन्तर वर्षा भएन,” उहाँले भन्नुभयो, “अहिलेसम्म खोलानालामा पर्याप्त पानी नआएकाले कुलोमा सिँचाइ हुन सकेको छैन। त्यसैले हाम्रो वडामा करिब ५० प्रतिशत मात्रै रोपाइ भएको छ।”
गएरातिको वर्षापछि भने किसान खेतमा व्यस्त भएका छन्। “आकाशे पानीकै भरमा अहिले रोपाइँ गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “यदि वर्षाले यसैगरी साथ दियो भने बाँकी खेतमा पनि यही साताभित्र रोपाइँ सकिन्छ।” समयमै रोपाइँ सम्पन्न भए यस वर्ष धान उत्पादन पनि बढ्न सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।
