• ट्रेण्डिङ्ग :
विचार
प्रजातन्त्रमा विचारमाथि बहस गरौँ, व्यक्तिमाथि अपमान र आरोप प्रत्यारोप होइन

प्रजातन्त्रमा विचारमाथि बहस गरौँ, व्यक्तिमाथि अपमान र आरोप प्रत्यारोप होइन


  • 2.1K
    SHARES
    • श्रावण ४, २०८३ सोमबार
    • १ महिना अघि
    • 3.2K Views

    प्रजातन्त्रमा विचारमाथि बहस गरौँ, व्यक्तिमाथि अपमान र आरोप प्रत्यारोप होइन

    नेपालको राजनीतिमा पछिल्ला दिनहरूमा विचारभन्दा व्यक्तिमाथिको अपमान, चरित्रहत्या र सामाजिक सञ्जालमा आक्रमण बढ्दै गएको देखिन्छ। सामाजिक सञ्जालले सबैलाई आफ्नो धारणा राख्ने अवसर दिएको छ, तर दुर्भाग्यवश त्यही माध्यम गाली, अपशब्द, चरित्रहत्या र साइबर बुलिङको थलो बन्दै गएको छ।

    images

    केही दिन यता राप्रपाका सांसद ज्ञानेन्द्र शाही र रास्वपाका केही नेता तथा समर्थकहरूबीच देखिएको आरोप–प्रत्यारोप र त्यसपछि सामाजिक सञ्जालमा फैलिएको गाली र कटुता पनि यही प्रवृत्तिको उदाहरण हो। संसदमा गृहमन्त्रीलाई गरिएको कडा प्रश्नपछि सुरु भएको राजनीतिक बहस क्रमशः व्यक्तिगत आक्रमणमा रूपान्तरण हुन पुगेको देखिन्छ। अहिले जापानमा रहेका राप्रपाका सांसद मा. ज्ञानेन्द्र शाही र रास्वपाका सांसद  मा. खगेन्द्र सुनार बीच पनि सार्वजनिक अभिव्यक्ति र प्रतिक्रिया आदानप्रदान भइरहेको सन्दर्भमा समर्थकहरूबीचको तिक्तता अझ बढेको देखिन्छ।

    लोकतान्त्रिक समाजमा फरक मत हुनु स्वाभाविक हो। कुनै पनि सांसद, नेता वा सार्वजनिक व्यक्तिको अभिव्यक्तिमाथि आलोचना गर्न पाइन्छ। तर आलोचना गर्ने अधिकारको अर्थ गाली गर्ने, अपमान गर्ने, परिवारसम्म तान्ने वा चरित्रहत्या गर्ने छुट होइन। व्यक्तिगत रूपमा हेर्दा, माननीय ज्ञानेन्द्र शाहीले अभियन्तादेखि सांसदसम्मको यात्रामा अझ संयमित र जिम्मेवार अभिव्यक्ति दिनुपर्ने अपेक्षा स्वाभाविक हो। कतिपय अभिव्यक्तिमा आवेग देखिएको महसुस हुन सक्छ। सार्वजनिक पदमा बसेका व्यक्तिले तथ्य जत्तिकै भाषा र शैलीप्रति पनि संवेदनशील हुन आवश्यक हुन्छ। किनकि शब्दले समाजमा सकारात्मक सन्देश पनि दिन सक्छ र अनावश्यक द्वन्द्व पनि सिर्जना गर्न सक्छ।

    तर यही आधारमा ज्ञानेन्द्र शाहीमाथि गरिएको साइबर बुलिङ, अश्लील टिप्पणी, अपशब्द र व्यक्तिगत अफवाहलाई कुनै पनि हालतमा उचित भन्न सकिँदैन। यदि कसैले गलत बोलेको छ भने त्यसको जवाफ तथ्य, तर्क र शालीन भाषाबाट दिन सकिन्छ। लोकतन्त्रमा प्रतिवादको सबैभन्दा बलियो माध्यम तर्क हो, गाली होइन र सांसद ज्ञानेन्द्र शाहीले पनि प्रतिपक्ष दलका कार्यकर्ताहरूले गाली र चरित्रहत्या गरे भन्दैमा आफू पनि आवेगमा आएर त्यो स्तरमा गएर प्रधानमन्त्री, रास्वपाका सभापति या अरु कुनै नेताहरूको व्यक्तिगत चरित्र हत्या गर्नु हुँदैन। संयमता अपनाउनु पर्दछ ! 

    यही प्रश्न रास्वपाका केही नेता, सांसद तथा समर्थकहरूलाई पनि लागू हुन्छ। आफ्ना नेताको समर्थन गर्नु स्वाभाविक हो, तर समर्थनको नाममा असभ्य भाषा प्रयोग गर्ने, फरक मत राख्नेलाई शत्रु ठान्ने वा सामाजिक सञ्जालमा भीड मानसिकता प्रदर्शन गर्ने प्रवृत्तिले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउँछ। हिजो अरू दलका अन्धसमर्थकमा देखिएको यही प्रवृत्ति आज नयाँ राजनीतिक शक्तिका केही समर्थकमा पनि देखिन थालेको हो भने त्यो चिन्ताको विषय हो।

    हामीले एउटा महत्त्वपूर्ण कुरा बुझ्न आवश्यक छ-कुनै पनि नेता पूर्ण रूपमा सही वा पूर्ण रूपमा गलत हुँदैन। प्रधानमन्त्री, प्रतिपक्ष, रास्वपा, राप्रपा वा अन्य कुनै दलका नेता सबैका राम्रा र कमजोर पक्ष हुन्छन्। त्यसैले कसैको अन्धभक्त (झोले) वा अन्धविरोधी बन्नुभन्दा नागरिकको भूमिका विवेकपूर्ण हुनुपर्छ। नेताहरूलाई आवश्यक पर्दा समर्थन गर्ने र गल्ती गर्दा आलोचना गर्ने संस्कार नै स्वस्थ लोकतन्त्रको आधार हो।

    सार्वजनिक जीवनमा रहेका सबै नेताहरूले पनि आफ्ना शब्दको प्रभाव बुझ्नुपर्छ। राजनीतिक प्रतिस्पर्धा हुन सक्छ, विचार फरक हुन सक्छ, तर त्यसले समाजमा घृणा फैलाउने वातावरण सिर्जना गर्नु हुँदैन। नेता संयमित भए समर्थक पनि संयमित हुन्छन्। नेताले उत्तेजना फैलाए समर्थकहरू पनि त्यसै दिशामा जान सक्छन्। आज सामाजिक सञ्जालमा देखिने धेरै विवादहरू वास्तविक समस्याभन्दा भावनात्मक प्रतिक्रियाले बढी चलिरहेका छन्। केही सेकेन्डको भिडियो, एउटा स्टाटस वा एउटा क्लिपका आधारमा मानिसहरू एकअर्काका शत्रुजस्तै व्यवहार गर्न थालेका छन्। यसले समाजलाई विभाजित मात्र बनाउँछ।

    नेपाललाई अहिले गाली गर्ने नागरिकभन्दा जिम्मेवार नागरिक चाहिएको छ। तथ्यभन्दा हल्ला फैलाउने होइन, विवेक प्रयोग गर्ने नागरिक चाहिएको छ। दलभन्दा माथि देशलाई राख्ने संस्कार आवश्यक छ।
    अन्ततः, लोकतन्त्रको सुन्दरता फरक विचार स्वीकार गर्न सक्नुमा हुन्छ। विचारसँग असहमति हुन सक्छ, तर व्यक्तिप्रति सम्मान कायम रहनुपर्छ। जनप्रतिनिधि जोसुकै हुन्—ज्ञानेन्द्र शाही, खगेन्द्र सुनार, खुश्बु ओली वा अन्य कुनै नेता—उहाँहरूको विचारमाथि बहस गरौँ, तर व्यक्तिमाथि आक्रमण नगरौँ। गालीले कसैलाई ठूलो बनाउँदैन, तर्कले समाजलाई अगाडि बढाउँछ। प्रजातन्त्रमा विचारमाथि बहस गरौँ, व्यक्तिमाथि चरित्रहत्या होइन।

  • सम्बन्धित विषय:

  • # बिरेन्द्र पौडेल

  • बिरेन्द्र पौडेल
    लेखकबाट थप