तुलसीपुर, ११ भदौ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण स्याफ्रुबेँसी, टिमुरेलगायत क्षेत्रमा भएको ठूलो जनधन तथा भौतिक संरचनाको क्षतिप्रति नेपाल तरुण दल तुलसीपुर नगरले दुःख व्यक्त गरेको छ।
नेपाल तरुण दल तुलसीपुर उपमहानगर कार्यसमितिले प्रेस विज्ञप्ति जारी गर्दै विपद्मा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।
त्यस्तै, बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गर्न, घाइतेको प्रभावकारी उपचारको व्यवस्था मिलाउन तथा प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ।
विज्ञप्तिमा विपद्को समयमा राजनीतिक आस्था र विचारभन्दा माथि उठेर मानवीय उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ। साथै, तरुण दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सक्रिय सहभागी हुन आह्वान गरिएको छ।
बाढी तथा पहिरोको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, आवश्यक खाद्यान्न, खानेपानी, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको तत्काल व्यवस्था गर्न पनि विज्ञप्तिमार्फत सरकारसँग आग्रह गरिएको छ।
नेपाल तरुण दल तुलसीपुरले बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा नजान र सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न सर्वसाधारणलाई अपिलसमेत गरेको छ।
