काठमाडौँ, भदौ २० ।भोटेकोशी बाढीको विपदमा सघाउँदै चीन सरकारका तर्फबाट पठाइएको बेलीब्रिजसहितको सहायता सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ ।
चीनको सिजाङ स्वायत्त क्षेत्र(तिब्बत)बाट पठाइएको बेलीब्रिज लगायतका आपतकालीन सहायता सामग्री सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाललाई हस्तान्तरण गरिएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।
‘साझा हिमाल, साझा नदी, सुख–दुःखमा ऐक्यबद्धताः नेपालको सहयोगार्थ सिजाङको तत्परता’ सन्देश सहित उक्त सामग्री हस्तान्तरण भएको हो । शुक्रबार राती दिइएको सहायता सामग्रीले यस विपतको समयमा दुई देशका जनताबीचको ऐक्यबद्धता र आपसी सद्भावको हार्दिक भावनालाई उजागर गर्ने दूतावासले औँल्याएको छ ।
सहायता सामग्रीमा विशेषगरी बेलीब्रिजको विभिन्न भागमध्ये बेली प्यानल, सुदृढ सस्पेन्सन रड, सपोर्ट फ्रेम, ब्रिज डेकिङ र आई–बीम लगायतका विशेष उपकरणहरू समावेश रहेको छ । जसले विपत् प्रभावित क्षेत्रमा दुईवटा बेलीब्रिज जडान गर्न पर्याप्त हुनेछ । नेपालका पहिरो प्रभावित क्षेत्रहरूमा महत्त्वपूर्ण यातायात सम्पर्क पुनस्र्थापना गर्न तथा उद्धार र राहत कार्यमा सहयोग पुर्याउन यी सामग्रीको प्रयोग सहयागी हुने पनि दूतवासले जनाएको छ ।
चीनको ल्हासास्थित विदेश मामिला कार्यालयले नेपाली महावाणिज्य दूतावासलाई सामग्री हस्तान्तरण गरेको हो । नेपालका महावाणिज्य दूत लक्ष्मीप्रसाद निरौलाले विपदको समयमा चीनले देखाएको तत्परताप्रति आभार व्यक्त गर्नुभयो । समयमै प्राप्त सहयोगले दुई क्षेत्रबीचको मित्रताको गहिरो सम्बन्धलाई उजागर गरेको उहाँले स्पष्ट पार्नुभयो ।
