बागलुङ, भदौ २१ गते। गाईजात्रा पर्वको अवसरमा बागलुङ बजारमा जोगी नाच प्रदर्शनको क्रममा सङ्कलित भेटी रसुवाको भोटेकोशी बाढीपीडितलाई सहयोग गरिएको छ । तीन सय वर्ष पुरानो जोगी नाच प्रदर्शन गर्ने क्रममा भेटीस्वरुप सङ्कलित २८ हजार रुपियाँ बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिएको हो । शाक्य कल्याण समाजको अगुवाईमा जोगी नाच प्रदर्शन गरिएको थियो ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यमार्फत प्रधानमन्त्री उद्वार कोषमा रकम पठाईएको शाक्य कल्याण समाजका अध्यक्ष बाबुलाल शाक्यले जानकारी दिनुभयो । बाढीले ठूलो जनधनको क्षति भएको र प्रभावित नागरिकको उद्वार, राहत र पुनस्थापनाको लागि संकलित भेटी उद्वार कोषमा पठाईएको अध्यक्ष शाक्यले बताउनुभयो ।
नेवाः खल गलकोटले गाईजात्राको अवसरमा लाखे नाच प्रदर्शनका क्रममा सङ्कलित भेटी बाढीपीडितलाई सहयोग गरेको छ । लाखे नाच देखाउने क्रममा सङ्कलित ५२ हजार १ सय ८३ रुपियाँ कोषमा जम्मा गरिएको संस्थाका अध्यक्ष प्रनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले पनि बाढीपीडित नागरिकको उद्वार, राहत र पुनस्थापनाका लागि ३ लाख ४६ हजार ६ सय ६६ रुपियाँ सहयोग गरेको छ ।
सामाजिक उत्तदायित्वअन्तर्गत संस्थाको तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ र कर्मचारीहरुको तर्फबाट २ लाख ३५ हजार ५ सय ५५ रुपैयाँ गरी कुल ३ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिएको संस्थाले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
