अस्टिन, टेक्सास
हालै नेपाल–चीन सीमानाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको छ। यस विपत्तिप्रति संवेदनशील भई टेक्सासको राजधानी अस्टिनमा बसोबास गर्ने नेपालीहरूले उल्लेखनीय सहयोग उपलब्ध गराएका छन्। गैरआवासीय नेपाली संघ अमेरिकाका संरक्षक तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वसदस्य एवं अस्टिन क्षेत्रका व्यवसायी टंकराज रेग्मी (महेश)ले ३ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका छन्। उनी ग्रेटर अस्टिन नेपाली सोसाइटीका सक्रिय आजीवन सदस्य तथा पशुपतिनाथ मन्दिरका ट्रस्टीसमेत हुन्। राष्ट्रलाई विपत्ति परेको बेला सबैले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले आफैंले सहयोगको थालनी गरेको बताए। तेश्रोॲाखालाई प्राप्त जानकारी अनुसार एउटा परिवारको तर्फबाट गरिएको यो हाल सम्मको ठुलो सहयोग रकम हो । प्रधानमन्त्री राहत कोषमा एक लाखभन्दा बढी रकम जम्मा गर्ने नेपालीहरूको क्रम बढ्दो छ। “संसारको जुनसुकै कुनामा भए पनि हाम्रो मुटु नेपालमै धड्किन्छ, देशमा आएको विपत्तिले हामीलाई स्तब्ध बनाएको छ” भन्दै आफ्नो पीडा फेसबुक पेजमार्फत व्यक्त गरेका अमृत मिश्रले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ राहत कोषमा जम्मा गरेका छन्।
त्यस्तै, बाढीपहिरोका कारण ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दै वर्षा पाण्डे गौतम र कृष्ण गौतमले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। “निर्दयी भोटेकोशीले मान्छे, गाउँघर, सहर र सपना सबै बगायो” भनी पीडा पोख्दै आरसी खड्का र डेजी सानुले १ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाएका छन्। यसैगरी, रामकुमार सुवेदीले जन्मभूमिको विपत्तिमा आफ्नी स्वर्गीय श्रीमतीको स्मृतिमा ‘प्रमिला होप फाउन्डेसन’ मार्फत १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसा सहयोग गरेका छन्। प्रदीप अरिना भडेलले "हाम्रो जन्मभूमिमा आएको प्राकृतिक विपत्तिले धेरै परिवारमा जनधनको क्षति पुर्याई गहिरो पीडा दिएको छ" भन्दै १ लाख १ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन्। त्यस्तै सुर्यमणि गौतम, सन्ध्या गौत, अस्मिता राई,लक्ष्मन पाण्डे र स्मृति घलेको समूहले रु पाँच लाख सहयोग गरेको छ यसबाहेक, समूहमा र संस्थागत रकम जम्मा गरी पठाउनेहरु तथा एक लाखभन्दा कम रकम पठाउने सहयोगीहरूको संख्या धेरै रहेको छ । तेश्रोॲाखाको संम्पर्कमा नरहेका दाताहरुको संख्या पनि उल्लेख्य रहेको छ । हाल सम्म फेसबुकबाट सार्वजनिक गरिएका एउटा परिवारले प्रधानमन्त्री राहतकोषमा पठाएको एकलाख भन्दा ठुलो रकमलाई मात्र यो समाचारमा समेटने प्रयास गरिएको हो ।
