ओसाका । नेपाली कला, संस्कृति, मौलिक परम्परा तथा भेषभूषालाई जापानमा प्रवर्द्धन गर्दै नेपाल–जापानबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले ‘नेपाली मेला ओसाका २०२६’ आयोजना हुने भएको छ।
खुशी उरेशी सोसाइटीको आयोजनामा यही सेप्टेम्बर १९ र २० तारिख ओसाकाको इकुनो पार्कमा मेला आयोजना हुन लागेको हो। दुवै दिन बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने मेलामा नेपाली तथा जापानी कला, संस्कृति र परम्पराको विविध प्रस्तुति रहनेछ।
मेलामा नेपाली तथा जापानी सांस्कृतिक स्टेज कार्यक्रम, गीत तथा नृत्य, नेपाली मौलिक भेषभूषा, नेपाली खानाका परिकार तथा विभिन्न सांस्कृतिक स्टलहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। साथै, नेपालको जीवित देवी कुमारीसम्बन्धी फोटो प्रदर्शनी समेत राखिने आयोजकले जनाएको छ।
खुशी उरेशी सोसाइटीका अध्यक्ष अध्यक्ष टी. आर.गौडेलका अनुसार यो कार्यक्रम नेपाली समुदायलाई लक्षित मात्र नभई जापानी र नेपाली जनताबीच सांस्कृतिक आदानप्रदान तथा आपसी समझदारीलाई गहिरो बनाउने साझा प्रयास का रूपमा आयोजना गरिएको हो। जापानी र नेपाली नागरिकले एकअर्काको संस्कृति, परम्परा र मौलिकतालाई नजिकबाट बुझ्दै सँगै कार्यक्रमको आनन्द लिन सकून् भन्ने उद्देश्य मेलाले बोकेको छ।
‘Support each other, happy together’ अर्थात् एकअर्कालाई सहयोग गर्दै सँगै खुसी हुने भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको यस मेलाले दुई देशका जनताबीचको सम्बन्धलाई जनस्तरसम्म थप मजबुत बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
मेलामा जापानमा रहेका नेपाली समुदायसँगै जापानी नागरिक तथा नेपालप्रति रुचि राख्ने सम्पूर्ण शुभेच्छुकहरूलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ। मेलाबाट प्राप्त हुने मुनाफाको एक अंश भोटेकोशीको बाढीपीडितलाई सहयोगार्थ प्रदान गर्ने निर्णय गरिएको आयोजकले जनाएका छन्।
नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्दै नेपाल–जापानको मित्रता अझ प्रगाढ बनाऔँ भन्ने सन्देशसहित आयोजना हुन लागेको ‘नेपाली मेला ओसाका २०२६’ ओसाकामा नेपाली संस्कृति र नेपाल–जापानबीचको जनस्तरीय सम्बन्धलाई जोड्ने महत्वपूर्ण सांस्कृतिक अवसर बन्ने अपेक्षा गरिएको छ। विशेषगरी जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवार तथा साथीहरूसहित कार्यक्रममा उपस्थित भएर नेपाली कला, संस्कृति र मौलिकताको उत्सवमा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन खुशी उरेशी सोसाइटीले हार्दिक अनुरोध गरेको छ।
