• ट्रेण्डिङ्ग :
चुम्चेतमा पहिरोले थुनिएको नदी फुट्दा बूढीगण्डकीमा विनाशकारी बाढी

चुम्चेतमा पहिरोले थुनिएको नदी फुट्दा बूढीगण्डकीमा विनाशकारी बाढी


  • 1.6K
    SHARES
    • आश्विन २६, २०८३ सोमबार
    • ३ हप्ता अघि
    • 2.4K Views

    चुम्चेतमा पहिरोले थुनिएको नदी फुट्दा बूढीगण्डकीमा विनाशकारी बाढी

    गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको विनाशकारी बाढी नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। गोरखाको चुम्चेतनजिक पहिरो खसेपछि नदीको बहाव रोकिएको र त्यसरी जम्मा भएको पानी एक्कासि खुलेर बाढी आएको हुन सक्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले प्रारम्भिम निष्कर्ष निकालेको हो । 

    images

    इसिमोडका अनुसार बाढी आइतबार बिहान नेपाली समयअनुसार करिब ४ बजे शुरू भएको अनुमान छ। बाढीले नदीमा थुप्रिएको माटो, गेग्रान र पहिरोका अवशेष बगाउँदै तल्लो तटीय क्षेत्रमा ठूलो प्रभाव पारेको थियो। नदीको बहावमा उतारचढाव आएपछि आसपासका बस्तीमा जोखिम बढेको थियो। त्यसपछि अधिकारीहरूले बूढीगण्डकी, त्रिशूली र नारायणी नदी आसपासका बासिन्दालाई सतर्क रहन चेतावनी दिएका थिए।

    बाढीले बस्ती र पूर्वाधारमा क्षति पुर्‍याएको छ। बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण भने संकलन भइरहेको छ। बाढीले बूढीगण्डकी नदीमा निर्माणाधीन ३४१ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ । 

    यो घटना रसुवा–केरुङ क्षेत्रमा आएको विपत्तिको केही समयपछि भएको हो। छोटो अवधिमै हिमाली क्षेत्रमा अर्को ठूलो बाढी आउनुले पहाडी तथा हिमाली भूभागमा एकपछि अर्को विपद् निम्तिन सक्ने जोखिमलाई फेरि उजागर गरेको इसिमोडले जनाएको छ । 


    इसिमोडका अनुसार बाढीको सम्भावित कारण पहिचान गर्नु भविष्यमा हुने क्षति न्यूनीकरणका लागि आवश्यक छ। पहिरोले नदी थुन्ने, पानी जम्मा हुने र त्यसपछि एक्कासि पानी खुल्ने प्रक्रियाले तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढी ल्याउन सक्छ । यस्तो अवस्थामा नदीको माथिल्लो भागमा भएको एउटा घटनाले धेरै तलसम्मका बस्ती र पूर्वाधारलाई प्रभावित पार्न सक्छ।

    इसिमोडका जलवायु तथा वातावरणीय जोखिमसम्बन्धी रणनीतिक नेतृत्वकर्ता चियाङगङ झाङले प्रारम्भिक विश्लेषणले पहिरोका कारण बनेको अस्थायी अवरोध फुट्दा गेग्रानसहितको ठूलो बाढी आएको हुन सक्ने देखाएको बताए। 'हालको विश्लेषणले पहिरोले बनाएको अस्थायी अवरोध फुटेपछि ठूलो मात्रामा गेग्रान बोकेको बाढी तल्लो क्षेत्रमा बगेको हुन सक्ने देखाउँछ,' उनले भनेका छन्, 'यस्ता घटनाले ठाडो भिरालो भएका हिमाली जलाधार क्षेत्रमा अस्थिर पहिरो र नदी प्रणालीको एकीकृत अनुगमन तथा मूल्यांकन किन आवश्यक छ भन्ने स्पष्ट पार्छन्। यहाँ विकसित हुने विपद्ले टाढासम्मका समुदायलाई प्रभावित पार्न सक्छ।'

    उनका अनुसार पहिरोको जोखिमलाई नदीको बहाव र सम्भावित प्रभावसँग जोडेर अध्ययन गर्न आवश्यक छ । पहिरो कहाँ खस्न सक्छ भन्ने जानकारी मात्र पर्याप्त हुँदैन। त्यसले नदी थुन्ने सम्भावना, पानी जम्मा हुने अवस्था र अवरोध फुटेपछि तल्लो क्षेत्रमा पर्ने प्रभावबारे पनि पूर्वानुमान गर्नुपर्छ।

    इसिमोडले आगामी दिनमा गरिने जोखिम मूल्यांकन, पूर्वाधार योजना र पुनःस्थापनाका काममा हिमाली क्षेत्रमा देखिने बहुविपद्लाई समेट्नुपर्नेमा जोड दिएको छ। कुनै एउटा विपद्ले अर्को विपद् निम्त्याउन सक्ने अवस्था, त्यसका कारण र तल्लो क्षेत्रमा पर्ने प्रभावलाई एकसाथ विश्लेषण गर्नुपर्ने संस्थाको भनाइ छ।

    null

    बूढीगण्डकीमा यसअघि पनि ठूलो बाढी उत्पन्न भएको थियो। सन् २०२४ को अप्रिलमा मनास्लु हिमनदीको अग्रभागबाट ठूलो हिमपहिरो खसेपछि वीरेन्द्र तालमा अचानक पानीको बहाव बढेको थियो। त्यसपछि तालको पानी एक्कासि बाहिरिएर बूढीगण्डकी नदीमा बाढी आएको थियो।

    इसिमोडको नेतृत्वमा गरिएको विस्तृत अध्ययनले उक्त घटनालाई हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड—जीएलओएफ) नभई हिमपहिरोका कारण तालको पानी विस्थापित भएर बाहिरिएको घटनाका रूपमा व्याख्या गरेको थियो।

    दुवै घटनाको प्रकृति फरक भए पनि तिनले हिमाली नदी प्रणालीमा विनाशकारी बाढी आउन सक्ने विभिन्न कारण रहेको देखाएका छन्। हिमनदीबाट खस्ने हिमपहिरो, तालको पानी विस्थापित हुने अवस्था, पहिरोले नदी थुन्ने घटना र अस्थायी अवरोध फुट्ने प्रक्रियाले अचानक बाढी निम्त्याउन सक्छन्।



  • सम्बन्धित विषय:

  • # बूढीगण्डकीमा विनाशकारी बाढी

  • तेस्रो आँखा