बागलुङ कार्तिक १२ । संघीय सरकारले पहिलो चरणमा बागलुङका छ पालिकालाई विपद्मा सघाउन दुई करोड अनुदान उपलब्ध गराएको छ । असोज ११ गतेको बाढीपहिरोबाट ठुलो धनजनको क्षति पुगेको बागलुङका छ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा संगै अनुदान पठाइएको हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा पहिलो चरणमा तत्कालै गर्नुपर्ने विपद्जन्य कामका लागि छ स्थानीय तहलाई दुई करोड राहत आएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
पालिकाले विपद्पछि तत्कालै गर्नुपर्ने सडक सुचारु, खानेपानी मर्मत, विद्यालयमा पठनपाठको वातावरण बनाउने लगायतमा खर्च गर्न पाउने प्रजिअ आचार्यले बताउनुभयो ।
बाढीपहिरोले ठुलो क्षति पु¥याएका क्षेत्रको पुनर्निर्माण र राहत वितरणलाई तीव्र बनाउने उद्देश्यले सरकारले जिल्लाको ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका र ढोरपाटन नगरपालिका सबै वडा र निसीखोला गाउँपालिकाका वडा नम्बर ४ र ६, तमानखोला गाउँपालिकाका वडा नम्बर २ र ४ वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको पालिकालाई ४० लाख रुपियाँका दरले र आंशिक रूपमा घोषणा गरिएको निसीखोला र तमानखोलालाई २० लाख रुपियाँका दरले गरी दुई करोड रुपियाँ अनुदान रकम आएको छ ।
गत असोज ११ गते आएको बाढीपहिरोमा परी बागलुङमा १३ जनाले ज्यान गुमाएका थिए ।
