काठमाडाैं,३ बैशाख । नेकपा एमाले ओखलढुंगामा स्थानीय तह निर्वाचनका लागि उमेद्वारका आकाक्षीहरुको निकै लामो लाइन छ । मानेभञ्ज्याङ्ग गाउँपालिका बाहेक सबै स्थानीय तहमा कम्तीमा ३ जनाको आकांक्षा देखिएको छ । सबै भन्दा बढी लिखु गाउपालिकामा १० जनाले इच्छा व्यक्त गरेको एमाले जिल्ला अध्यक्ष शंकर कट्वालले जानकारी दिए ।
उम्मेदवारका आकांक्षी जति भएपनि अन्तमा सर्वसहमतीमा टिकट दिने वातावरण मिलाउदै लगेको कट्वालले बताए । उनले भने, ‘बैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लाका आठ वटै स्थानीय तह र ७५ वटै वडामा पार्टीका उमेद्वारहरु सर्वसम्मत चयन गर्ने योजनामा छौं।’ वडा कमिटीहरुले वडाअध्यक्ष र सदस्यहरुका आकांक्षीको नाम पालिकामा र पालिका कमिटीले पालिका भित्रका वडा र पालिकाको अध्यक्ष, उपाध्यक्षका आकांक्षीहरुका नाम जिल्ला कमिटीमा पेश गरेका छन् ।
वडा तथा पालिकाकमिटीबाट आएका आकांक्षीका नाममा छलफल गरेर सर्वसम्मत उमेद्वार छनोट गर्नेक्रममा रहेको कटवालले बताए । नेकपा एमालेको ओखलढुंगाको तथ्यांकमा हालसम्म जिल्लाका ३८ वटा वडाका वडाअध्यक्षका उमेद्वारहरु सर्वसम्मत चयन भइसकेका छन् । बाँकी नामका विषयमा छलफल भइरहेको र केही दिनमै सबै उमेद्वार सर्वसहमत बनाउने प्रयासमा रहेको एमालेले जनाएको छ ।
जिल्लामा सर्वसम्मत नभएका पालिकाका अध्यक्ष र उपाध्यक्ष उमेद्वारका आकांक्षीको नाम प्रदेश कमिटीमा सिफारीस गर्ने एमालेको तयारी छ । सत्तारुढ गठबन्धनले चुनावी तालमेलको प्रयासमा समय गुजारीरहेको वेला एमालेले धमाधम सर्वसहमतीमा उम्मेदवार तय गर्दै आउनु गठबन्धनकालागी चुनौतिको विषय भएको नेताहरुले बताएका छन् । एमालेले उमेद्वार सर्वसम्मत बनाउन जिल्लामा आएका नामलाई वडा र पालिका कमिटीमा छलफलका लागि पटक फिर्ता पठाएर सर्वसम्मत एकल नाम पठाउन सर्कुलर गरेको अध्यक्ष कट्वालले बताए ।
