काठमाडौं, ३ बैशाख । कर्णाली प्रदेशमा पनि भागबण्डाकै कारण गठबन्धनमा किचलो उत्पन्न भएको छ। यद्दपी गठबन्धनलाई बैशाख ५ गतेसम्म भागबण्डा मिलाउने समय दिइएको छ।
स्थानीय तहको निर्वाचनको मिति नजिक आउँदै गर्दा तालमेल गरेर निर्वाचनमा जाने गठबन्धनको अडानलाई तल्लो तहका नेता तथा कार्यकर्ताले अफ्ठ्यारो सिर्जना गर्दै आएका छन्।
नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही माओवादी केन्द्र र नेकपा एसको हटका कारण कर्णालीमा तालमेल गर्ने कुरामा समस्या सिर्जना भएको बताउँछन्। उनले ५ गते बस्ने बैठकले भने सकेसम्म सहमति गराउने विश्वास दिलाएका छन्।
उनका अनुसार कर्णाली प्रदेशमा नेकपा एकीकृत समाजवादीले २०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेका ठाउँहरु आफूहरुले स्वतः पाउनु पर्ने बताएको छ। यस्तै, माओवादी केन्द्रले पनि मतभारको आफूले जितेको पालिकाहरुमा आफूहरु नै लड्न पाउनु पर्ने बताउँदै आएको छ।
नेपाली कांग्रेसले मात्र त्याग गर्नु पर्ने अवस्थाको सिर्जना भएका काणर अहिलेसम्म गठबन्धनको तालमेलमा निर्वाचनमा जाने भन्ने विषयमा सहमति जुट्न नसकेको प्रदेश सभापति शाहीको भनाइ छ। नेकपा एमालेबाट बनेको एकीकृत समाजवादीले आफूसँगै मतदाता पनि ल्याएर नआएको शाहीको भनाइ छ।
‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु सनाखत गरेर नेकपा एसमा आए पनि उहाँहरुको स्थानीय तहको सम्पूर्ण मतदाता उहाँहरुको पछि लागेका छन् भन्ने निश्चित आधार नभएका कारण छोड्नै पर्ने बाध्यतामा कांग्रेस छैन।’ प्रदेश सभापति शाहीले भने।
बैशाख २ गते बसेको गठबन्धनको बैठकले तालमेल गरेर स्थानीय तहको निर्वाचनमा जान नसकिने निर्णय गरेको नेकपा माओवादी केन्द्र स्रोतले जनाएको छ।
