काठमाडौं, १३ वैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार पनि ओरालो लागेको थियो । सोमबारकै लय पछ्याउँदै नेप्सेमा मङ्गलबार पनि गिरावट देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.०२ अङ्कले ओरालो लागेको नेप्से परिसूचक दुई हजार ३७०.९९ मा थामिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७४ अङ्कले घटेर ४५२.९५ मा ओर्लेको छ ।
नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ । कूल २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर रु एक अर्ब चार करोड ६० लाख १४ हजार ४१७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ७२ अर्ब ७२ करोड ९५ लाख ७० हजार हाराहारीमा ओर्लेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।
