कांग्रेस घोराही नगरको सभापतिमा युवा नेता तिलक रावत चुनिए । नेपाल बिद्यार्थी संघका तत्कालीन क्षेत्रीय सभापति रहेका तिलकले पार्टीको नगरसभापतिमा फड्को मारे । त्यसोत, उनका प्रतिष्पर्धी पनि युवा नै बने । नेविसंघकै जिल्ला सदस्य निरज गिरी तिलकका प्रतिष्पर्धी थिए । घोराही नगरसभापतिका लागि पाका नेताहरु रेसमा देखिएनन् । समुहगत रुपमा आआफ्नो उम्मेदवारलाई बिजयी बनाउन कस्सिएका उनिहरुले घोराही नगरको नेतृत्व युवाहरुलाई नै छोडिदिए ।
तुलसीपुर उपमहानगरपालिकाको नगर नेतृत्व पनि यस पटक युवाकै काँधमा गयो । यो नगरको सभापतिमा सुरेश हमाल चुनिए भने उनका प्रतिष्पर्धी पनि युवा नै थिए । बिद्यार्थी संघको राजनीतिमा रहेका अनिल कार्कीलाई पार्टी भित्रको एक समुहले उनलाई नगरसभापतिको उम्मेदवार बनाएको थियो ।
घोराही र तुलसीपुरमा मात्रै हैन, जिल्लाका १० पालिका मध्य अधिकांशमा कांग्रेसमा युवा पंक्तीले पकड जमाएको छ । पालिका स्तरीय नेतृत्वका लागि पकड जमाएको युवा पंक्तीका सामु पुरानो पुस्ताले हार खाएको समेत छ ।
कांग्रेस लमही नगरपालिका नगर सभापति शिवप्रसाद चौधरी पुनः सभापति पदमा दोहोरिन चाहे । पुनः सभापति पदका लागि सर्वसम्मतीको प्रयासमा रहेका उनि यो अभियानमा सफल हुन सकेनन् । अन्ततः एउटा खेमाको नेतृत्व गर्दै चुनावमा होमिने निर्णयमा उनि पुगे । उनि संगै सभापति पदमा भिड्न युवा पुस्ताको प्रतिनिधित्व गर्दै आईपुगेका नेपाल तरुण दलका सन्तोष बुढाथोकी ।
सभापतिमा दाहोरिने दाउमा रहेका पाका नेता शिब प्रसाद चौधरी उनै युवा नेता बुढाथोकी सामु स्तब्ध बन्न पुगे । ‘युवा पुस्ता धेरै जोश र उत्साहका साथ पार्टीमा आईपुगेको छ ,’ लमहीका एक कांग्रेस नेताले भने ‘लमही नगरसभापतिको निर्वाचनले देखाएको मत परिणाम यसकै गतिलो उदाहरण हो ।’
उता तुलसीपुर नगरमा सुरेश हमालको नेतृत्वको प्यानल बाट एकजना मात्रै पराजित बन्न पुगे । हमालको प्यानलबाट उपसभापति लडेका पीमलाल डाँगीले मात्रै यो प्यानलबाट हार ब्यहोरे । तुलसीपुर क्षेत्रका कांग्रेसीहरुले यो हारको कारण ‘पुरानो पुस्ता’ भएको बिश्लेषण गरिरहेका छन् ।
७० माथि उमेरका डाँगीलाई ३५ बर्ष मुनीका युवाले अर्को प्यानलबाट हराईदिए । ‘युवा पुस्ताले पुरानो पुस्तालाई नेतृत्व सहजै छोड्ने पक्षमा अब छैन भन्ने उदाहरण यो हो,’ एक क्षेत्रीय प्रतिनिधिले भने ‘डाँगीले हार्नुको कारण उहाँको पाको उमेर नै हो, यसवा पुस्ताले उहाँलाई मन पराएनन् मुल कारण नै यहि हो ।’
पालिका स्तरीय समितिका लागि अधिकांश युवाहरुनै उम्मेदवार बनेका कारण पनि युवा पुस्ताको सहभागीता बेजोड बन्दै गईरहेको कांग्रेसका नेताहरु बताउँछन् ।
नेपाली कांग्रेस दाङका निवर्तमान जिल्ला सचिव कमल किशोर घिमिरेले कांग्रेसमा युवा पंक्तीको उत्साहजनक सहभागीताले पार्टीलाई थप उर्जा प्रदान भएको बताउँछन् । ‘कांग्रेसको वडा तहको अधिवेशन देखिनै युवाहरुको उत्साह पार्टी प्रति ब्यापक बन्यो,’ उनले भने ‘युवा पंक्ती पार्टी नेतृत्वमा आयो भने स्वतः पार्टी नयाँ उत्साहका साथ अघि बढ्छ, यो निकै राम्रो पक्ष पनि हो ।’
त्यसोत, कांग्रेसको नगर अधिवेशनमा युवाहरुको सहभागीतालाई हेर्ने हो भने ग्रामिण क्षेत्रबाट अँझ ब्यापक सभागीता भएको देखिन्छ । पार्टीका नेताहरु शहर केन्द्रीत भएका कारण गाउँमा युवा पुस्ता कांग्रेस भित्र निकै सकृय छ ।
‘वडा तहको अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भएको आँकडा हेर्ने हो भने युवाहरु ७५ प्रतिसतको हाराहारीमा छन्,’ घिमिरे भन्छन् ‘यसमा बढि सहभागीता ग्रामिण क्षेत्रबाटै भएको छ ।’ नगर अधिवेशन सम्म निकै उत्साह प्रद देखिएको युवा सहभागीता अबका उपल्ला अधिवेशनमा कस्तो रहने भन्ने प्रश्न उठेको छ । महाधिवेशन प्रतिनिधि सम्मको आफ्नो प्रतिनिधित्व कायम राख्न युवाहरुलाई त्यति सहज पनि छैन ।
महाविधेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि , क्षेत्रीय समिति तथा जिल्ला कार्य समितिमा उनिहरुको सहभागीता पाका नेताहरुको भुमिकाका कारण कमजोर बन्ने आँकलन सहजै गर्न सकिन्छ । ‘यो बेलामा प्रतिनिधि आएको युवाहरुको ठूलो जमात प्रयोग हुने खतरा रहन्छ,’ कांग्रेसका अर्का एक नेताले भने ‘उपल्ला अधिवेशनहरु पाका तथा चल्तीका नेताहरुको स्वार्थ रहने भएकाले युवाहरुले आफ्नो उपस्थिती देखाउन पाउने सम्भावना कम रहन्छ ।’ नगर अधिवेशन सम्म जवरजस्त आएको युवा पुस्ता अबको उपल्ला अधिवेशनहरुमा भने नेतागत स्वार्थमा फस्ने खतरा बढि रहने कांग्रेसका पाका नेताहरु बताउँछन् ।
