कैलाली,२१ जेठ । कैलाली गोदावरी नगरपालिकाकी मायादेवी पार्कीलाई तराईको गर्मी र त्यसमाथी आगोको राप सहनै पर्ने बाध्यता छ । विगत ६ बर्षदेखि हरिया मकै पोलेर व्यापार गर्दै आएकी पार्कीलाई टन्टलापुर घामको ताप र आगोको रापमा सहेरपनि मकै पोल्नै पर्ने उनको दैनिकी हो । यो पेशा छाडिनभने उनलाई विहान बेलुका हाममुख जोर्न कठिन हुन्छ । उनका तीन छोरा छोरी छन् ।
मकै को व्यापारबाटै उनले ३ छोराछोरीको पढाई खर्चदेखि सम्पूर्ण घरखर्च धान्दै आएकी छन् । सरकारले बेरोजगार महिलाहरुकालागि सजिलो र व्यवस्थित किसिमको रोजगारी सिर्जना गरिदिनुपर्ने पार्कीको माग छ । अर्का व्यापारी मान बहादुर पनि विगत १५ बर्षदेखि मकैको व्यापार गर्दै आएका छन् । पालेको मकै व्यपारबाट सन्तुष्टि रहेको उनी बताउँछन् । रुखको छहारिमुनी बसेर मकै पोलिरहेका मानबहादुरले घर खर्च चलाउन कमै व्यापार गरेरै पुर्याउने गरेका छन् । उनी भन्छन, ‘मकै बेचेर मासिक २५–३० हजार सम्म कमाइ हुनेगरेको छ ।’
मायादेवी र मानबहादुर मात्र होइन, कैलालीको गोदावरी नगरपालिका भित्र मकै पोलेर व्यापार गर्दै आएका आधा दर्जन व्यापारी छन् । उनिहरुलाई जत्तिनै चर्को घामको ताप र मकै पोल्ने भुग्रोको रापले छुदैन् । उनीहरुको यो बाध्यता पनि भएकाले पोलेको मकै बिक्री गरेरै घरखर्च चलाइरहेका छन् । सडक छेउछाउमा र अत्तरियाको बसपार्कमा अधिकांस महिलाहरुले चर्को घाममा मकै पोलेरे बिक्री गरि जिविकोपार्जन गर्दै आएका छन ।
तराईको गर्मी त्यसमाथी आगोको राप सहनै नसकिने तर पनि गरिब निमुखाहरु बाध्य भएर तातो घाम र आगोसँग पौठ्यजोरी खेल्दै मकै पोल्न व्यस्त देखिन्छन् । काम गरे स्वदेशमै आम्दानी गर्न सकिने उनिहरुको अनुभव छ । ‘दुःख त धेरै हुन्छ,’ मायादेवी भन्छिन्, ‘तर घर परिवारसँगै बसेर स्वदेशमै पनि आफ्नै काम गर्दा घर खर्च चलाउन सकिन्छ ।’ कैलालीको अत्तरीया क्षेत्रमा मकै पालेर बसेका यी महिलाहरु स्वदेशमा रोजगारी छैन भन्दै विदेशिने युवाहरुका लागि गतिलो उदाहरण बनेका छन् । ‘चर्को घाम होस या पानी, अधिकाँस नागरिकहरु अत्तरिया बजारमा हरियो मकै पोलेर बेच्न थालेका छन्’, उनले भनिन् ।
दिउँसोतिर विभिन्न कामका लिएर बजार निस्कने देखि घुमफिरमा आउनेहरु मानिसहरु पोलेको मकैतिर बढी आकर्षित हुने गरेका छन् । त्यसैलाई मध्यनजर गर्दै मानिसको बढी आवतजावत हुने स्थान र रुखको छहारी भएका ठाँउमा व्यापारीले हरियो मकै पोलेर बिक्री गर्दै आएका छन् । चर्को घामहोस या पानी जस्तो सुकै परिस्थितीमा पनि मकै पोलेर घरखर्च र आफ्नो परिवार पाल्नु पर्ने जिम्मेवारी उनिहरुमाथि छ ।
जाँगर चलाएर राम्रोसँग मकै बेच्न सकेमा महिनामा ३० हजार सम्म आम्दानी हुने उनीहरु बताउँछन् । कैलालीका विभिन्न स्थानमा गर्मी मौसममा पनि पोलेको मकैको रामै्र कारोबार भैरहेकाले व्यापारीहरुको संख्या पनि बढ्न थालेको छ । मकै स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । बेरोजगार युवाहरुले रोजगारको लागि विदेश जानु भन्दा आफ्नै ठाउँमा सानो लगानीमा यस्ता व्यापार गर्न सके युवाहरु स्वरोजगार बन्न सक्ने कुरालाई नकार्न सकिदैन ।
शितल स्नेही
