खोटाङको,२ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका वडाध्यक्ष अर्जुनकुमार पुरीले महिला भएकैले काम गर्न नसक्ने भन्दै सरुवा भएर आएकी वडासचिव सुशीला दाहाललाई हाजिर नगराई पुरुष सचिवको माग गरेपछि वविाद उत्पन्न भएको छ । सचिवको जिम्मेवारी सम्हाल्न पुगेकी दाहालले भने आफूमाथि लैंगिक विभेद गरिएको बताउँदै छलफलबाट पनि निकास ननिस्के कानुनी लडाइँमा जाने बताएपछि यो घटना मुद्धा बन्ने अवस्थामा पुगेको हो ।
३० जेठमा नगरपालिकाको पत्र बोकेर दाहाल हाजिर हुन अर्खौले पुगेकी थिइन् । वडाध्यक्ष अर्जुनकुमार पुरीले साथीहरुसँग सल्लाह गरेर हाजिर गराउँछु भने पनि ३१ जेठमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र नै लेखेर महिला वडा सचिवबाट काम गर्न असजिलो हुने भएकाले वडामा पुरुष वडा सचिव पठाइदिने अनुरोधसहितको पत्र लेखेको थिए । वडाध्यक्ष पुरीले जेठ ३० को वडा समिति बैठकको निर्णय भन्दै नगरपालिकालाई पत्र लेखेका थिए ।
महिला भएकै कारण वडा सचिवलाई हाजिर गराउन वडाध्यक्षले अस्वीकार गरेको विषयबारे नगरप्रमुख विमला राई पनि जानकार छिन् । दाहालले भनिन, ‘यसबारे नगरप्रमुखलाई पनि जानकारी गराए । छलफलपछि न्याय पाउने आशा राखेकी छु ।’ नगरप्रमुख राईले कुनै पनि हालतमा वडा सचिवलाई अन्याय हुन नदिने बताउँदै सग्लनलाई प्रष्टिकरण मागिएको र बृहत् छलफल गरी स(सम्मान अनुभूति हुने गरी न्यायसहित कर्मचारीलाई खटाइने बताइन् ।
महिला भएकै कारण काममा विभेद गरिएको विषय बाहिरिएलगत्तै चौतर्फी विरोध भए पनि वडाध्यक्ष पुरीले लेखाईमा त्रुटि भएको भन्दै विज्ञप्तिमार्फत नै माफी मागेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘अर्खौले दुर्गम भएकाले तीन–चार घण्टा हिँडेर वडा कार्यालय धाउनु पर्ने, भौगोलिक विकटताका कारण आउँदा–जाँदा व्यक्तिगतरुपमा पनि असहज हुन्छ कि भन्ने कारणले उहाँकै सहजताका लागि नगरपालिकामा पत्र लेखिएको र उक्त पत्रमा लेखिएको भाषाले पर्न गएको असरप्रति आलोचित हुँदै क्षमायाचना गर्दछु ।’
