काठमाडाैं, १५ असार । नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेमा माओवादीको बीउ छरेको भन्ने प्रचण्डको भनाइकाे जवाफ फर्काएका छन् । वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कुनै एउटा धारको बीउ अब नउम्रिने दाबी गरे ।
भुसालले भने, ‘कमरेड प्रचण्डले आज एमालेमा माओवादीको बीउ छरेर आएका छौं भन्नुभएछ । तर, उहाँले पनि ठीक ढंगले बुझ्न सक्नुभएन । अब एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउ चल्दैन, अब हाइब्रिड बीउ चाहिन्छ । अस्ति हामीले हाइब्रिड बनाएका थियौं त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायौं । फेरि पनि हामी नेकपाको हाइब्रिड बीउ बनाउँछौँ ।’
भुसालले फेरि पनि नेकपा एकता गर्ने प्रण समेत गरे । एकठाउँमा जुट्दा ६०/७० प्रतिशत कम्युनिस्टहरु फुटेर आफ्नै घरमा आगो लगाएको र त्यसमा आङ सेकेर एकअर्कालाई गालीगलौज गर्दै आएको उनले बताए । भुसालले भने, ‘हाम्रो पुस्ताको तर्फबाट कमरेड सिद्धलालका अगाडि कसम खान्छु । यो कमजोरी हटाउन निरन्तर प्रयत्न गर्छौं, अन्तिमसम्म प्रयत्न गर्छौं, हटाउने छौं र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्नेछौं ।’
