काठमाडौं, १९ असार । हिमालयन हाइड्रोपावर लिमिटेडलेको आईपीओ भर्ने अवधि आइतबार सकिँदैछ। गत बुधबारदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय आइतबार सकिन लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशन गरेको थियो। जसमध्ये ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषका लागि र ३९ हजार ३६५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।
बाँकी १८ लाख ३० हजार ४७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्री नभएको ६ लाख १८ हजार २५० कित्ता पनि सर्वसाधारणलाई निष्काशन गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयलाई वैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म आईपीओ निष्काशन गरेको थियो।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो सेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
