काठमाडौं,२२ मंसिर । साझा उम्मेदवार तय गर्न कहिले पार्टी प्यालेस त कहिले नेताका घरमा डेरा जमाएका कांग्रेस संस्थापनइतर शीर्ष नेताहरुलाई साझा उम्मेदवारको विषय थप पेचिलो बन्दै गरेको छ । पार्टी सभापतिका लागि नेताहरुले आ-आफ्नो हट त्याग्न नसकेपछि साझा उम्मेदवार घोषणा गर्ने विषय बिहिबारलाई सरेको छ ।
शुक्रबार कांग्रेसले १४ औं महाधिवेशन उद्घाटनसत्र राखेको छ । तर अहिलेसम्म संस्थापनइतर पक्षमा उम्मेदवारको टुंगो लाग्न सकेको छैन । सहमतिका नाममा नेताहरुले लाखौं रुपैयाँ पार्टी प्यालेसमा खर्च गरेका छन् । तर, सहमतिको हलो कहाँ अड्कियाे त्यो अझै खुल्न सकेको छैन । अहिले सो समूहले चार दिनदेखि निरन्तर छलफल गरिरहेको छ ।
वडा तहको अधिवेशन तालिका एक दिन अघि मात्रै साझा उम्मेदवारको घोषणा गरेको संस्थापन इतरपक्षले चार महिना बितिसक्दा पनि अहिलेसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन । सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला केही लचक हुँदै गर्दा पुर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालाबीच सहमति हुन सकेको छैन ।
कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बुधबार साँझसम्म साझा उम्मेदवार चयन गर्ने भने पनि आकांक्षीहरूका बीचमा सहमति जुटेको छैन । बिहीबार बिहान ८ बजे पुनः छलफलमा बस्ने गरी नेताहरुबीच सहमति भएपनि साझा उम्मेदवारको विषय थप पेचिलो बन्दै गएको हो ।
नेता वल बहादुर केसीका अनुसार सभापतिका आकांक्षी नेता प्रकाशमान सिंहले आफैँ सभापतिको उम्मेदवार हुनुपर्ने दाबी छाडेका छैनन् । पौडेल र कोइरालाहरूले भने छलफल गरेर अघि बढ्न सकिने तर्क गर्दै आएका छन् । नेता सिंहले आफ्नो दाबी नछाडेपछि बैठकमा तनावको अवस्था समेत बनेको थियो ।
बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले सबै लड्ने भए म राजनीतिबाट विदा हुन्छु, घरमै आराम गर्छु भन्दै रिसाएका थिए । उनले पार्टीबाटै अलग हुने चेतावनी दिए । नेता पौडेलले गत भदौं १८ गते आसन्न १४ औं महाधिवेशन प्रयोजनका लागि आह्वान गरिएको पत्रकार सम्मेलनमा आफ्नो समूहबाट साझा उम्मेदवार आउने प्रतिवद्धता व्यक्त गरेका थिए । तर, त्यो प्रतिवद्धता चार महिनासम्म पनि पुरा हुन नसक्दा पौडेल थप सकसमा छन् ।
नेता केसीले आकांक्षीहरू बाहेकका केन्द्रीय सदस्यहरू विहीबार बिहान छलफलमा बस्ने, त्यो छलफलको निर्णयअनुसार नेताहरूलाई सुझाव दिने, र नेताहरूले निर्णय लिने सहमति भएको भएको छ । वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले मंगलबार नै आफूहरू लचिलो हुन तयार रहेको बताएका थिए ।
तर, नेता सिंह र अर्का आकांक्षी शेखर कोइराला टसमस हुन सकेका छैनन् । संस्थापनइरमा नेतृत्वमात्रै विवाद छैन । अन्य पदका आकांक्षी अहिले नेताहरुको निवास, सम्पर्क कार्यालयमा धाउन थालेका छन् । आकांक्षीको भार थाम्न नसक्ने अबस्था आएपछि सभापति शेरबहादुर देउवाले आकांक्षी नाम एक मुस्ट उपलव्ध गराउन निर्देशन दिएका छन् । संस्थापनइतर पक्षमा महामन्त्री, सहमहामन्त्रीमा सहमति जुट्ने संभावना न्यून देखिएको छ ।
भने कलस्टरमा पनि संस्थापनइतरलाई ठुलै धक्का लाग्ने संभावना बढेर गएको छ । महाधिवेशनको संघारमा रहेको समयमा संस्थापनइतरले आकांक्षीको व्यवस्थापन गर्न नसके त्यसको असर चुनावमा पर्ने आकालन बढेर गएको छ । अहिले जिल्ला, प्रदेशमा भएका अधिवेशनमा संस्थापन पक्ष बलियो देखिएको छ । जसले गर्दा संस्थापनइरलाई साझा उम्मेदवार घोषणा गर्नुको विकल्प छैन ।
