• ट्रेण्डिङ्ग :
देशभर बढ्दै डेंगुका बिरामी, शेरबहादुर पुन भन्छन्– ३/४ महिनासम्म कमी आउँदैन

देशभर बढ्दै डेंगुका बिरामी, शेरबहादुर पुन भन्छन्– ३/४ महिनासम्म कमी आउँदैन


  • 7.6K
    SHARES
    • भाद्र १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    देशभर बढ्दै डेंगुका बिरामी, शेरबहादुर पुन भन्छन्– ३/४ महिनासम्म कमी आउँदैन

    काठमाडौं । नेपालमा पछिल्लो समय डेंगु रोगको संक्रमण बढ्दै गएको छ । डेंगु अहिले नेपालका सातै प्रदेशअन्तर्गत ६६ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ को साउनयता दुई हजार एक सय ७९ जनामा डेंगु संक्रमण देखिएको छ । 

    images

    २०६१ सालमा पहिलोपटक नेपालमा डेंगु रोगका संक्रमित देखिएका थिए । त्यसयता बर्सेनि डेंगु रोग देखिन थालेको छ भने यसकै कारणले मानिसहरू ज्यान गुमाउनुपरेको यथार्थ छ । यसको यकिन तथ्यांक मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरसँग पनि छैन । उनले तेस्रो आँखासँग कुरा गर्दै भने, ‘नेपालमा बर्सेनि धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । तर ठक्याक्कै यकिन तथ्यांक भने हामीसँग पनि छैन ।’

    उसो त भदौ १५ गते मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनयता प्रदेश १ मा एक सय ४४, मधेसमा ४८, वाग्मतीमा एक हजार दुई सय ९१ जनामा र गण्डकीमा ५२ जना डेंगुका बिरामी फेला परेका छन् । त्यस्तै लुम्बिनीमा पाँच सय ८३, कर्णालीमा १७ तथा सुदूरपश्चिम प्रदेशमा ४४ जनामा डेंगुको संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा सबैभन्दा बढी एक हजार दुई सय ९१ जना डेंगुका बिरामी फेला परेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १७ जनामा डेंगुका बिरामी फेला परेका छन् । डेंगु संक्रमित हुनेमा ४८ प्रतिशत पुरुष र ५२ प्रतिशत महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    उत्यकामा मात्रै १२ सयभन्दा बढी संक्रमित, उच्च जोखिममा वीरगन्ज र कञ्चनपुर

    काठमाडौं उपत्यकामा मात्रै १२ सयभन्दा बढीमा डेंगु पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामध्ये ललितपुरमा ८५६, काठमाडौंमा ३३२ र भक्तपुरमा ७० जनामा डेंगुका बिरामी भेटिएको मन्त्रालयको तथ्यांक छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा हाल ५० देखि ६० जना ज्वरोका बिरामी दैनिक आउने गरेको र त्यसमध्ये अधिकांशमा डेंगु देखिने गरेको अस्पतालले जनाएको छ ।

    त्यस्तै पर्साको वीरगन्जमा डेंगु र स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएको छ । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहका अनुसार सातायता दैनिकजसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगन्ज बाहिरबाट आएका नागरिकमा बढीजसो डेंगु र स्क्रब टाइफसको लक्षण देखिएको उनले बताए । हाल दैनिक १५ देखि २० जनामा डेंगु र स्क्रब टाइफसका बिरामी अस्पताल भर्ना हुन थालेका उनको भनाइ छ ।

    त्यस्तै कञ्चनपुर पनि डेंगुको उच्च जोखिममा रहेको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेंगु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चारजनामा डेंगु देखिएको थियो । खुला सीमाका कारण नेपाल–भारत आउजाउ बढी हुने भएकाले पनि कञ्चनपुरमा डेंगुको जोखिम उच्च भएको चिकित्सकले जनाएका छन् । गत वर्ष कञ्चनपुरमा १५ जनामा डेंगु देखिएको थियो ।

    हालै मात्र रौतहटमा डेंगु संक्रमणका कारण एकजनाको ज्यान गएको छ । देशभरै पनि डेंगुका संक्रमण बढ्दै गएकाले सर्वसाधारणमा जोखिम बढेको चिकित्सकहरू बताउँछन् ।

    संक्रमणदर कम हुन अझै दुई/तीन महिना लाग्छ : पुन

    डेंगु संक्रमणदर अहिले ह्वात्तै बढ्नुको कारण लामखुट्टे नियन्त्रणलाई ध्यान नदिनु रहेको विशेषज्ञहरू बताउँछन् । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन डेंगु संक्रमणमा कमी आउन अझै दुई÷तीन महिना लाग्ने बताउँछन् । उनका अनुसार डेंगु रोग पहिले भदौ÷असोजमा बढी फैलिने गरेको थियो । यसैलाई आधार मानेर हेर्दा अझै कम्तिमा दुईदेखि तीन महिना डेंगु संक्रमणको लहर नरोकिने उनको भनाइ छ ।
     
    सबैजना एकै ठाउँमा उपचार गर्न नआएर कम देखिएको उनी बताउँछन् । तर एकै परिवारका सबैजनामा र धेरै स्थानमा डेंगु संक्रमण भएको डा. पुनले तेस्रो आँखालाई बताए । ‘लामखुट्टेको नियन्त्रणमा ध्यान नदिँदा देशभर डेंगु रोग फैलिएको हो,’ डा. पुनले भने, ‘नेपालमा डेंगु संक्रमणको अवस्था अहिले देखिएभन्दा निकै भयानक छ । तर एकै ठाउँमा सबै उपचार गर्न आउने हो भने र सबैको तथ्यांक राज्यले गणना गर्ने हो भने डेंगुले धेरै मानिस संक्रमित भएका छन् ।’ ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने लक्षणका बिरामीहरू देशभरका स्वास्थ्य संस्थामा बढेका आधारमा पनि डेंगुको संक्रमण तथ्यांकभन्दा धेरै हुने पुनको अनुमान छ ।

    डेंगुका लक्षण :

    डेंगु एडिज एजिप्टी र एडिज एल्बोपिक्टस् प्रजातिका लामखुट्टेको टोकाइबाट सर्छ । यो रोगको संक्रमण भएमा एक्कासि ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, दैनिकी खानपानमा रुचि नलाग्नेजस्ता लक्षण देखापर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जानकारी दिए । 

    डेंगुबाट बच्ने उपाय

    डेंगु रोगको संक्रमणबाट बच्न पूरा बाहुला भएको लुगा लगाउने, झुलभित्र मात्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिनेजस्ता उपाय अपनाउनुपर्ने हुन्छ । त्यस्तै खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिए तत्काल मर्मत गर्ने, गमला प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा साताको एकपटक फेर्ने र पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्नेलगायत उपाय अपनाउन सकिने प्रवक्ता ठाकुर बताउँछन् ।

    डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले के गरिरहेको छ ?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले डेंगु रोग नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले १३९ स्थानीय तह, ६० जिल्ला र सातै प्रदेशमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालनका लागि बजेट विनियोजन गरेर अभियान अगाडि बढाइएको जानकारी दिए । विभिन्न माध्यमबाट रोगबाट बच्ने उपायका साथै जनचेतना फैलाउने काम गरेको, स्वास्थ्य संस्थाहरूको माग तथा उपलब्धताका आधारमा रोग निदानका लागि परीक्षण किटहरू उपलब्ध गराउँदै आएको पनि उनले जानकारी दिए ।

    डेंगु संक्रमण बढी देखिएको ललितपुर, भक्तपुरजस्ता स्थानमा स्थानीय तहको समन्वयमा सचेतनामूलक कार्य भइरहेको पनि उनको भनाइ छ । उनका अनुसार विद्यालय तथा होटेलहरूमा डेंगु रोकथाम गर्न होटेल एसोसिएसन अफ नेपाल र विद्यालयहरूको एसोसिएसनसँग बैठक सञ्चालन गरेको छ । रोगबाट बच्न स्वास्थ्य मन्त्रालय तथा चिकित्सकले भनेका उपाय अपनाउन र रोगबाट बच्न प्रवक्ता ठाकुरले सर्वसाधारणमा आग्रहसमेत गरे । साँझको समयमा लामखुट्टे बढी सक्रिय हुने भएकाले सो समयमा विशेष सतर्कता अपाउनुपर्नेमा उनको जोड छ । 

  • सम्बन्धित विषय:

  • # डेंगु रोगको संक्रमण

  • पदम भुजेल
    लेखकबाट थप