- देवेन्द्र बस्नेत/तेस्रो आँखा
काठमाडौं, २७ मंसिर । कांग्रेसभित्रको ‘आदर्श’ मेटिँदै जान थालेको भन्दै ‘असन्तुष्ट’ रामचन्द्र पौडेलले केन्द्रीय नेतृत्वका लागि हुने निर्वाचन प्रक्रियाबाट बाहिरिने निर्णय लिए । उनको यो निर्णयले आफ्नो समूहका दोस्रो तहका दुई नेताका लागि मैदान खाली भयो । डा। शेखर कोइराला र प्रकाशमान सिंह सभापतिका लागि मैदानमै छन् । यी दुई नेतासहित ५ जना कांग्रेस नेतृत्वका लागि ‘रस्साकस्सी’ गरिरहेकै छन् । सोमबार मतदान भइरहेको छ ।
चुनावी मैदानबाट बाहिरिने निर्णय गरिसकेका पौडेलको असन्तुष्टिको एउटै कारण हो( पार्टी पद्धतिमा चलेन, शक्तिका आधारमा चलाउन खोजियो । भलै उनी इतरहरूले पद नपाएपछि उनले राजनीतिबाटै सन्यास लिएको भनेर गलत प्रचारबाजी नगरेका भने होइनन् । तर, उनको कांग्रेस राजनीतिको लामो कालखण्डले उनलाई ‘पदलोलुपता’ देखि टाढा रहेको प्रमाणित गरिरहेको छ नै ।
पार्टीभित्र मौलाएको ‘गलत संस्कार’ ले दिग्दार भएर कांग्रेसको सकृय राजनीतिबाटै बिमुख हुन खोजेका पौडेल एक त्यागी नेताका रूपमा परिचित भइसके ।
आफू पछिहटेर दोस्रो तहका नेतालाई मैदान छाडिदिनु पौडेलको ठूलो त्याग हो नै । उनको यही त्यागपूर्ण निर्णयले उनलाई कांग्रेसको ‘सर्वोच्च’ को कोटीमा पुरयाएको विश्लेषण पनि हुनेगरेको छ । कांग्रेसभित्र वरिष्ठ नेताको ओहदामा रहेर पार्टीलाई सही दिशानिर्देश गर्नखोजेका पौडेल थाके, अनि चुनावी मैदानबाट अलग्गिए । तर, यही त्यागकै कारण पौडेलले ‘सर्वोच्च नेता’ को बाटो तय गरेका छन् भन्नेहरूको तर्क हो ।
सोमबार भएको मतदानले नेतृत्वको निर्क्याेल गरेर कुनै एक व्यक्तिलाई नेतृत्वमा पुरयाउने छ । देउवा, कोइराला, सिंह, गुरुङ, निधिमध्ये एक जना चुनाव जितेपछि मात्रै कांग्रेसको नेतृत्वकर्ता ‘नेता’ बन्नेछन् । मैदानबाटै बाहिरिएका पौडेलले भने चुनाव नलडेरै सर्वोच्च नेताको उचो ‘कद’ बनाउन सफल भएका छन् ।
सोमबार भएको मतदानमा पौडेल सहभागी भएनन् । कतिपयले यसलाई नकारात्मकरूपमा लिए । वरिष्ठ नेता नै मतदानमा सहभागी नहुनुले उनको ‘आक्रोश र असन्तुष्टि’ लाई मात्रै प्रमाणित गरेको बहस कांग्रेसवृत्तमा चलेको पनि छ । तर, आफूलाई त्यो मैदानबाट बाहिर राखेका पौडेल यो वा त्यो पक्षमा मतदान गर्न नजानुले उनको निर्णयलाई थप ‘ओज’ दिएको छ । उनको असन्तुष्टि पदका लागि नभई कांग्रेसभित्रको सिंगो ‘सिस्टम’ प्रति हो भन्ने उनको ‘भृकुटीमण्डप–अनुपस्थिति’ ले थप बल दिएको छ।
‘उहाँले पार्टीभित्र एकले अर्कालाई स्वीकार्नै नसक्ने गलत संस्कृतिप्रति असन्तुष्ट रहेर मैदानबाट बाहिरिने निर्णय गर्नुभयो’, उनी निकट एक नेताले भने– ‘अनि उहाँ त्यही संस्कृतिबाट चलिरहेको निर्वाचनमा मतदान गर्न कसरी जानुहुन्छ ?’ कांग्रेसको चुनावी मैदानबाट बाहिरिएका पौडेलले मतदान नगरेर आफूलाई थप ‘साझा व्यक्ति’ बनाउने प्रयत्न गरेका छन् । यसले पनि उनलाई सर्वोच्च नेता बन्ने बाटोमा हिँडाइदिएको छ ।
