काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक उम्मेदवार भोलि तय गर्ने भएको छ ।
शनिबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा महासचिव शंकर पोखरेलले समानुपातिक संख्या र सिफारिस गर्नुपर्ने संख्याका बारेमा जानकारी गराए ।
बैठकबारे जानकारी दिँदै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभाका ११० र ७ वटा प्रदेशसभाका २२० जना समानुपातिक उम्मेदवार आइतबार तय गरिने जानकारी दिए । उनले आइतबार बिहान ११ बजे सचिवालय बैठक बस्ने बताए ।
अछाममा बाढीपहिरोका कारण प्रभावित भएकाको यथाशीघ्र उद्धार, राहत र पुनःस्थापना गर्न शनिबारको बैठकबाट माग गरिएको उनले बताए ।दार्चुलालगायत देशका विभिन्न स्थानमा भारी वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै एमालेले जनताको मर्कामा साथ दिन सरकारसँग माग गरेको छ ।
