कालीकोट, कात्तिक १९ गते। चारैतिर अग्ला पहाड, टाढा देखिने हिमशृङ्खला, बिचमा फैलिएको फराकिलो फाँट र सुन्दर ग्रामीण बस्ती। प्राकृतिक सौन्दर्यले भरिपूर्ण जुम्लाको तातोपानी गाउँपालिकास्थित लाछी जिउला पर्यटकीय सम्भावना बोकेको आकर्षक क्षेत्र मानिन्छ ।
तातोपानीको पहिचानसँग जोडिएको लाछी जिउला केवल खेतीयोग्य जमिन मात्र होइन, यहाँको मौलिक कृषि सभ्यता, संस्कृति र प्राकृतिक सुन्दरताको अनुपम सङ्गम पनि हो। विशेषगरी जुम्लाको प्रसिद्ध रैथाने मार्सी धान उत्पादन हुने क्षेत्रको रूपमा यसको विशिष्ट पहिचान छ।
लाछी जिउलाको फराकिलो फाँट, वरिपरिका पहाड, हिमालको मनमोहक दृश्य र परम्परागत ग्रामीण बस्तीले यहाँ पुग्ने जोकोहीको मन आकर्षित गर्छ। मौसमअनुसार बदलिने प्राकृतिक दृश्यले यस क्षेत्रलाई थप सुन्दर बनाउँछ। यहाँ जमिनमुनि तातोपानीको मूलका कारण पर्यटकहरूको भिड हुने गर्दछ।
अहिले खेतबारीमा धान नभए पनि यहाँको भौगोलिक बनावट र प्राकृतिक दृश्यले पर्यटकलाई आकर्षित गरिरहेको छ।
जुम्लाको मार्सी धानले राष्ट्रियस्तरमै छुट्टै पहिचान बनाएको छ। यही मार्सी धान उत्पादन हुने लाछी जिउलासँगै जोडिएको तातोपानी पर्यटकीय क्षेत्रले झन सुनमा सुगन्ध थपेको छ। लाछी जिउलालाई कृषि पर्यटनसँग जोड्न सके यस क्षेत्रको महत्त्व अझ बढ्न सक्छ। यहाँको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, परम्परागत खेती प्रणाली र मार्सी धानको इतिहासलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ।
पर्यटकीय पूर्वाधारको विकास, प्रचारप्रसार र स्थानीय उत्पादनको बजारीकरणमा ध्यान दिन सके लाछी जिउला तातोपानी गाउँपालिकाको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ। यसले स्थानीय किसानको आम्दानी बढाउनुका साथै रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
हिमालको काखमा फैलिएको लाछी जिउला तातोपानीको प्राकृतिक गहना मात्र नभइ, जुम्लाको मार्सी धान र मौलिक कृषि पहिचान बोकेको सुन्दर भूगोललाई पर्यटनसँग जोड्ने तातोपानी गाउँपालिकाले तातोपानी धारामा सँरचना निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो
