काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गए राति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ३–० गोलअन्तरले पराजित भएको हो । यसहारसँगै नेपाल छनोट खेलमा जितविहीन बन्यो ।
बंगलादेशको जितमा एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले समान एक एक गोल गरे । खेलको छैटौँ मिनेटमा जोनीले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ११ औँ मिनेटमा नोभाले गोल गर्दै बङ्गलादेशलाई २–० को अग्रता दिलाइन् ।
खेलको २६ औँ मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । बंगलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि उनले रातो कार्ड पाएका हुन् ।
त्यसपछि खेलको ३५ औँ मिनेटमा कप्तान आयुस घलानले रातो कार्ड पाएपछि नेपाल नौ खेलाडीमा समेटियो । बंगलादेशका अजिजुल हक एनान्टोलाई ‘मिडल फिंगर’ साइन देखाएपछि घलानलाई रेफ्री अहमेद इसा मोहमदले सिधै रातो कार्ड देखाएर मैदान पठाए ।
अजिजुलले पनि दोहोरो पहेँलो कार्ड पाएसँगै बंगलादेश पनि १० खेलाडीमा समेटिएको थियो । उनले नेपालका कप्तान आयुसलाई जिस्काएका थिए । त्यसपछि खेलको ५२ औँ मिनेटमा निजुमले गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाए ।
समूह चरणमा नेपालको यो चौँथो हार हो । पहिलो खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले कतारसँग ३–१ गोल अन्तरको हार बेहोरेको थियो । नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।
यता बंगलादेशको यो दोस्रो जित हो । बंगलादेश चार खेलमा सात अङ्क जोड्यो । बंगलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो । यस समूह बीको विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।
