• ट्रेण्डिङ्ग :
कलाका कथा
बाजासितै जीवन व्यतीत

बाजासितै जीवन व्यतीत


‘सङ्गीतले धेरैलाई बाँच्ने प्रेरणा दिन्छ, पीडा भुल्न सिकाउँछ’

  • 7.0K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 10.8K Views

    बाजासितै जीवन व्यतीत

    सारङ्गी, मादल, हार्मोनियम, मुर्चुङ्गालगायत दर्जन बढी वाद्यवादनका सामानले कोठा भरिएका छन्, घर वरपरको वातावरण बिहान होस् या दिउँसो, साँझ सङ्गीतले गुञ्जयमान छ । सडक नजिकै  जोडिएको घर, बाटो हिँड्ने यात्री एकछिन अडिएर मीठो सङ्गीतको धुन सुनेर आफ्नो गन्तव्यमा पाइला बढाउँछन् । सङ्गीतको तालमा आफ्नो जीवनको समय उत्तराद्र्धमा पुगेको अझै पत्तो छैन, टीकाराम ढकाललाई । उमेर गन्ती गर्दा उनी ठ्याक्कै ६१ वर्षमा पुगे । तर सङ्गीतले १६ वर्षे जवानीको जोशिलो पारामा सङ्गीतको तालमा डुबुल्कु मार्छन्  । 

    पाल्पा । सारङ्गी, मादल, हार्मोनियम, मुर्चुङ्गालगायत दर्जन बढी वाद्यवादनका सामानले कोठा भरिएका छन्, घर वरपरको वातावरण बिहान होस् या दिउँसो, साँझ सङ्गीतले गुञ्जयमान छ ।

    images

    सडक नजिकै  जोडिएको घर, बाटो हिँड्ने यात्री एकछिन अडिएर मीठो सङ्गीतको धुन सुनेर आफ्नो गन्तव्यमा पाइला बढाउँछन् । सङ्गीतको तालमा आफ्नो जीवनको समय उत्तराद्र्धमा पुगेको अझै पत्तो छैन, टीकाराम ढकाललाई । उमेर गन्ती गर्दा उनी ठ्याक्कै ६१ वर्षमा पुगे । तर सङ्गीतले १६ वर्षे जवानीको जोशिलो पारामा सङ्गीतको तालमा डुबुल्कु मार्छन्  । 

    पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुका उनको दैनिकी वाद्यवादनमा बित्ने गरेको छ । कोठामा सजाएर राखिएका थरिथरिका बाजा बजाएर जीवन व्यतीत गरिरहेका छन् ।  “उमेरले छ दशक नाघिसकेछ तर सङ्गीतले १६ वर्षे ठिटो छुजस्तो बनायो, बाजा बजाउन भनेपछि मनभित्रै देखि नै निकै जोशिलोपन बढेर आउँछ, बुढ्यौली टेकेजस्तो लाग्दैन”, उनले सुनाए, “सङ्गीतमा रमाएर बाँच्ने नै मेरो सङ्कल्प हो त्यसरी नै बाँचिरहेको छु,, एउटा नशाजस्तै बनेको छ ।” 
     
    घरमा बुबाबाट बाँसुरी बजाउने प्रेरणा पाएपछि १३ वर्षको उमेरदेखि नै वाद्यवादनमा लाग्नुभएका ढकालले १७ थरिका बाजा बजाउँछन् । आफूले बजाउने सबै बाजा घरमा किनेर राख्नुभएको छ । बाँसुरी, खैजडी, मुजुरा, मादल, माउथ हार्मोनियम, हार्मोनियम, किबोर्ड, अक्टोप्याड, मुर्चुङ्गा, पात, छ्याइछ्याइ, सहनाई, ठूलो झ्याली, शङ्ख, डमरु, सारङ्गी, मोहोलीलगायतका बाजा बजाउन सिपालु छन् ।  

    बिहान उठेदेखि नै साँझसम्म बाजासँगै दैनिकी बितेको छ । करिब तीन लाख बढीका वाद्यवादनका सामग्री खरिद गरेका छन् । नयाँ बाजा देख्ने बित्तिकै झिकाउने र घरमा आफैले सिक्ने गर्छन् । उनले पुराना बाजा मात्रै नभई बजारमा आएका आधुनिक खालका बाजा पनि मज्जाले बजाउने गर्छन् । लोपोन्मुख अवस्थामा रहेको पुरानो बाजा मोहोली र मुर्चङ्गा घरको दराजमा संरक्षण गरेर राखेका छन् । विशेष गरी बाँसुरी, खैजडी, मुजुरा, हार्मोनियम, सारङ्गी, अक्टोपसलगायतका बाजा बढी बजाउन मन पराउँछन् – “औपचारिकरुपमा कला संस्कृति सिक्ने चाहना थियो तर त्यस समयमा वातावरण बनेन, राष्ट्रियस्तरसम्म पुगेको भए एक खालको राष्ट्रिय कलाकारको उपाधि बन्थ्यो, तै पनि स्थानीयस्तरमा नै वाद्यवादनमा भिजेको छु, यसमै सन्तुष्टि मिलेको छ, मेरो कलालाई राष्ट्रियस्तरका कलाकारले पनि चिनेर घरमा बेला–बेलामा आउने गर्नुहुन्छ ।” 
     

    मानिसका जीवनका दुःख र पीडालाई भुल्न सङ्गीत अतिआवश्यक रहेको उनले सुनाए । ब्लड क्यान्सर रोगले ग्रसित उनी नियमित उपचारसँगै घरमै वाद्यवादन कार्यमा रहँदा रोगको पीडा नै भुल्दै गएको अनुभव बताए । करिब १६ वर्ष अघि क्यान्सर रोगले आक्रमण गरेपछि नेपाल तथा भारतका विभिन्न अस्पतालमा नियमित उपचार गरेपछि अहिले दुई वर्षयता भने रोग निको हुँदै जाँदा उपचारमा अस्पताल कम धाउनुपरेको छ । 

    करिब १४ वर्षसम्म रोगसँग जुधेका ढकालले घरको कोठामा बसेर दिनभर विभिन्न थरिका बाजा बजाउने गर्दा आफ्नो शरीरको करिब २५ प्रतिशत रोग निको हुँदै गएको अनुभूति सुनाए । सरकारले सङ्गीतलाई संरक्षण गरिनुपर्नेछ, जसले गर्दा यस क्षेत्रमा लाग्न सबैलाई प्रेरणा मिल्नेछ । मेरो शरीरको रोग निवारण गर्ने एक चिज सङ्गीत हो, सङ्गीतमा भुलेपछि सबै कुरा बिर्सिर्दै गएको ढकालले बताए । 

    यति अनुभव र सुख दुःखका कुरा सुनाएर थाकेनन उनी । फेरि सुनाउन थाल्छन्, “बाजा बजाउँदै गर्दा रोगको पीडा कम भएको महसुस भयो, जीवनलाई भुलाउने माध्यम भनेको सङ्गीत रहेछ, जीवनको अन्तिम समयसम्म पनि यसरी नै वाद्यवादनमा नै रमाउनेछु, यसमै जीवन आनन्दमय व्यतीत भइरहेको छ ।” 

    रामपुर भजनकीर्तन मण्डलीका अध्यक्षसमेत रहेका ढकालले संस्थालाई व्यवस्थित गरी यस क्षेत्रमा वाद्यवादनमा रुचि जगाउने र सिक्न चाहनेलाई सङ्गीत सिकाउने लक्ष्यका साथ सामाजिक कार्यमा उहाँ सक्रिय भएर लागेका छन्  । अहिले यस क्षेत्रमा युवा उहाँकै कलाबाट प्रभावित भएर विभिन्न थरिका बाजा बजाउने र भजनकीर्तनमा सहभागी हुने गरेका छन् ।

    सङ्गीत अपार चिज हो, जतिसुकै मानिस पढेर विद्वान् भए पनि जीवन जिउने यो अति आवश्यक पर्ने उनको भनाइ छ । उनी समूहमा गाउँघरमा हुने धार्मिक तथा शुभकार्य, विभिन्न सभा समारोह, मेला महोत्सव, सांस्कृतिकलगायतका विभिन्न कार्यमा वाद्यवादनमा सरिक हुँदै आएका छन् । पाल्पा, स्याङ्जा, तनहुँ, रुपन्देही, गुल्मी, कास्की, नवलपरासी, गोरखा, लमजुङ, बाग्लुङ, महेन्द्रनगर, सुर्खेत, काठमाडौँ, चितवनलगायतका विभिन्न जिल्लामा वाद्यवादनका निम्ति पुगेका छन्  उनी । 

    पुराना मौलिक बाजा बजाउने कलाकारसँग नगरको कला संस्कृतिको विकासमा स्थानीय सरकारले छलफल तथा सुझाव माग गरेमा यस क्षेत्रको विकास हुने थियो तर कला संस्कृति संरक्षणमा नागरिकले अनुभूति हुने खालको काम नगरेकोमा भने उनी चिन्तित छन् । 

    ‘घरमा युवा वाद्यवादन सिक्न बेला–बेलामा आउने गरेकाले आफूमा भएको कला, संस्कृति नयाँ पुस्तालाई सिकाउने र हस्तान्तरण गर्ने उहाँको इच्छा छ । सङ्गीत जीवन जिउने एउटा शक्ति मात्रै नभई यसको मीठो ध्वनिले पारिवारिक वातावरण रमाइलो र खुसी बनाएको छ’, श्रीमती विष्णुमाया ढकालले सुनाइन् । 

           
    “मैले जाने बुझेदेखि नै वाद्यवादनमा बढी सौखिन हुनुहुन्छ, घरपरिवारको कुनै तनाव छैन, सबै जिम्मेवारी मैले सम्हालेको छु, उहाँको दैनिकी वाद्यवादनमा नै बितिरहेको छ”, उनले भनिन्  । सङ्गीतले धेरै मानिसलाई बाँच्ने प्रेरणा र दुःख पीडा भुल्न सिकाउँछ । सङ्गीतको शक्ति एउटा आवाज, भाषा वा बोलीजस्तै हो । यसमा इमोसन र भावना हुन्छ । सङ्गीतको स्केल, धुन, पद्घति, शैली निकै बेग्लै हुन्छ, जसलाई महसुस गर्न सकिन्छ, शब्दमा भन्न सकिँदैन । अद्भूत आनन्दमय हुन्छ साङ्गीतिक संसार । 
          
    सङ्गीतले क्षणिक मनोरञ्जन दिनेमात्र होइन यसले चिरस्थायीरुपमा आनन्द समेत दिन्छ । आत्मसुखको मूल स्रोत नै सङ्गीत हो । भक्तिमार्गको अभिन्न अङ्ग नै सङ्गीत हो । मान्छेले मात्र सङ्गीतमा आत्मसुख पाउँदैनन् । पशुपन्छीलाई समेत मोहित पार्ने खुबी सङ्गीतमा छ । 

  • सम्बन्धित विषय:

  • # सङ्गीत

  • सुशीला रेग्मी
    लेखकबाट थप