काठमाडौँ, असोज २ गते । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गर्नुभएको छ ।
उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रियाका क्रममा जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्यो भन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आव्हान गर्नुभयो ।
प्रधानमन्त्री शाहले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिनुभयो ।
साथै, राजनीतिलाई पेशा नबनाइ आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्नसमेत प्रधानमन्त्री शाहले आग्रह गर्नुभयो।
अन्तरक्रियामा सहभागी जेन्जी उमेरका सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
