काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । एन्फाको बुधबार बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट अधिकारी र धिमाल निर्वाचित भएका हु्न् । निर्वाचित अधिकारी एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा समूहका हुन् भने धिमाल एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ समूहका हुन् ।
अधिकारीले ५४ मत प्राप्त गरे भने धिमालले ४७ मत प्राप्त गरेका छन् । सदस्यकै प्रत्याशी लोकन्द्र गुरुङले ४५ र दीपक थापाले सात मत प्राप्त गरे । यसअघि गत असार ६ गते सम्पन्न निर्वाचनमा १५ सदस्य निर्वाचित हुनुपर्नेमा १३ जनामात्र निर्वाचित भएका थिए ।
उक्त निर्वाचनमा चारजनाकै समान ३९ भोट आएको थियो, जसका कारण दुई सदस्यको टुंगो लागेको थिएन । दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ । यसअघिको निर्वाचनमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष, चारजना उपाध्यक्ष र १३ सदस्य निर्वाचित भएका थिए ।
