काठमाडौं । बलात्कारको आरोप खेपिरहेका राष्ट्रिय क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले असोज २० गते नेपाल आइपुग्ने बताएका छन् ।
उनले सामाजिक सन्जालमार्फत २० गते नेपाल आइपुग्ने लामिछानेले बताएका हुन् । उनले २० गते नेपाल आएर आफूमाथि लागेका झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्ने बताएका हुन् ।
‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आइपुग्नेछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्न आफूलाई नेपालको अख्तियारमा पेस गर्नेछु,’ सामाजिक सन्जालमार्फत लामिछानेले भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोहोर्याउँछु । सबै कानुन प्रवर्तन निकायहरू र सम्मानित अदालतहरू तिनीहरूको निष्पक्ष सुनवाइ र निर्णयमा म दृढ विश्वास गर्दछु र म छिटोभन्दा छिटो न्याय पाउने आशावादी छु ।’
उनले आफू षड्यन्त्रको सिकार भएको पनि दोहोर्याएका छन् । ‘मेरा प्रिय शुभचिन्तकहरू म निर्दोष छु र मैले तपाईंलाई कुनै गल्ती गरेको छैन भनी सबैलाई आश्वासन दिन्छु,’ उनले भनेका छन्, ‘मैले भोगेको अप्रिय अवस्थाबाट मुक्त भएँ र आफूलाई निर्दोष र षड्यन्त्रको सिकार साबित गर्नका लागि यो परीक्षाबाट गुज्रन तयार छु । म माथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा उजागर हुनेमा म विश्वस्त छु ।’
