काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सीमा मिचिँदा पनि सरकारले केहि बोल्न नसकेको आरोप लगाएका छन् ।
एमाले निकट युवा संघले शनिबार सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजना गरेको कार्यक्रममा उनले सीमा मिचिँदा पनि सरकारले केहि बोल्न नसकेको बताउँदै सरकारले कायरता देखाएको बताएका हुन् ।
उनले सरकारलाई देशको सीमा कहाँसम्म छ भन्ने कुरा पनि थाहा नरहेको बताए । ‘कहिं सीमा मिचेको छ भने बोल्नुपर्छ । यो सरकार सीमा मिचे भने पनि बोल्न सक्दैन । घुँटा टेकेर बस्छ’, उनले भने, ‘आफ्नो सिमाना कहाँसम्म हो त्यो पनि भन्न सक्दैन् । कायरता देखाउँछ । जलस्रोत, जग्गा, नदीनाला, खनिजको पनि रक्षा गर्न सक्दैन ।’
अध्यक्ष ओलीले सरकारलाई नक्कलीको संज्ञा दिए । ‘जनताले नछानेको परमादेशबाट आएको एउटा नक्कली सरकार हो’, उनले भने, ‘यो सरकार अझै हामीले डेढ महिनाभन्दा अझै बढी व्यहोर्नुपर्छ ।’
सरकारले चुनाव निष्पक्ष गराउने पक्षमा नभई जसरी पनि जित्नुपर्ने सोंच राखेको भन्दै उनले लोकतन्त्रसँग मतलब नराखी लुटतन्त्र मच्चाएको आरोप लगाए ।
‘यो भ्रष्ट, धाँधलीवाद सरकार हो । जसरी पनि जित्नुपर्छ भन्ने सरकार हो । त्यसकारण हाम्रा युवाहरुले निष्पक्ष धाँधली कतै हुन नदिन, शान्तिपूर्ण ढंगले निर्वाचन गराउन आफ्ना स्वयंसेवक दलहरुलाई तयार गरी हरेक बुथमा खटाउनुपर्छ’ उनले भने ।
