• ट्रेण्डिङ्ग :
सम्पादकीय
पद, पैसा र पहुँचले निर्वाचन प्रभावित नहोस्

पद, पैसा र पहुँचले निर्वाचन प्रभावित नहोस्


  • 8.8K
    SHARES
    • आश्विन २१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    पद, पैसा र पहुँचले निर्वाचन प्रभावित नहोस्

    संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्त्वपूर्ण संस्था हो । शासन प्रणालीमा नीति निर्धारण तथा कानुन निर्माणजस्तो महत्त्वपूर्ण कार्य व्यवस्थापन कार्यविधिका माध्यमबाट यसले सुनिश्चित गर्दछ । यसका लागि संविधानमै आवधिक निर्वाचनको व्यवस्था गरिएको छ । आउँदो मंसिर ४ गते एकैचरणमा प्रतिनिधि र प्रदेशसभा चुनाव गर्नका लागि निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको छ । निर्वाचनका लागि अब झन्डै एक महिनामात्र बाँकी रहेको अवस्था छ ।

    images

    निर्वाचन आयोगले पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनाव प्रचारका लागि ३९ दिनको अवधि रहने गरी कार्यतालिका स्वीकृत गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनका लागि ७६ प्रकारका कार्यक्रमसहितको कार्यतालिका पनि स्वीकृत गरेको हो । कार्यतालिकाअनुसार प्रत्यक्षतर्फ २३ देखि २६ असोजसम्म उम्मेद्‌वारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मको कार्यतालिका छ । मंसिर १ गते राति १२ बजेबाट भने मौन अवधि लागु हुने कार्यतालिका छ । 

    संविधानमै आवधिक निर्वाचनको प्रावधान रहेकाले पनि अहिलेको प्रतिनिधिसभा र प्रदेशसभाका लागि मंसिर ४ गतेका लागि निर्वाचन तोकिएको हो । सहज र सफल रुपमा चुनाव सम्पन्न गर्न जसरी निर्वाचन आयोग अहोरात्र खटिएको छ राजनीतिक दलका नेताहरु पनि यसमै जुटेका छन् । दलहरु एक्लाएक्लै भन्दा पनि गठबन्धन बनाएर एकले अर्कोलाई सघाउने र आफूले सहयोग लिने गरी चुनावी तयारीमा लागेका छन् ।

    निर्वाचन आयोगले विजयादशमीको अवसर पारेर एक सन्देश जारी गर्दै पैसा र पहुँचबाट निर्वाचन प्रभावित नहुने मान्यता स्थापित गर्नुपर्ने बताएको छ । ‘निर्वाचन पद, पैसा र पहुँचले प्रभावित हुनु हुँदैन,’ आयोगको सन्देशमा उल्लेख छ, ‘निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं ।’ तर आयोगको यो सन्देशलाई राजनीतिक दल, तिनका कार्यकर्ताले कसरी पालना गर्ने हुन् त्यो भने हेर्न बाँकी नै छ । 

    यसअघिका दिनमा पद, पैसा र पहुँचकै बलमा चुनाव जित्दै आएका उम्मेद्‌वारलाई जनताको मन जित्न मुस्किल पर्ने देखिन्छ । बरु निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित बनेका स्वतन्त्र उम्मेद्‌वारले जनमत हासिल गर्ने देखिए पनि कति सफल हुने हुन् त्यो भने मंसिर ४ को नतिजापछि मात्रै थाहा लाग्ला । बाहुबली र पैसाकै आडमा निर्वाचन जितेर सत्तामा पुग्छु भन्ने दिवाश्वप्न देख्नुभन्दा आफ्ना एजेन्डा जनतामाझ स्थापित गरेर, मतदातालाई रिझाएर जित्नुको मज्जै बेग्लै हुन्छ । 

    स्थानीय निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता रहेकामा अब सात लाख मतदाता थपिने निर्वाचन आयोगले अनुमानसमेत गरेको छ । आयोगले मतदान केन्द्र पुनरावलोकनको काम र मतदाता नामावली अद्यावधिकसमेत गरेको यो अवस्थामा दलहरु आपसी खिचातानीमा रुमल्लिएर नेपाली राजनीतिलाई अस्थिर बनाइरहनुभन्दा जनजनको मनमा बसेर निर्वाचित भएर आउनुको विकल्प देखिँदैन ।

    पद, पैसा र पहुँचले निर्वाचन प्रभावित नहोस् भनेरै आयोगले राजनीतिक दलहरुलाई ५२ बुँदे आचारसंहितासमेत लाग्ने जनाएको छ । आचारसंहितामा राजनीतिक दल र उम्मेद्‌‌वारले पालना गर्नुपर्ने कर्तव्यबारे धेरै कुरा समेटिएको छ । राजनीतिक रूपमा भइरहेको भ्रष्टाचार नियन्त्रणका लागि मूल सफा गर्न जरुरी छ । त्यो भनेको निर्वाचन नै हो । त्यसैले पनि निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनु अहिलेको आवश्यकता हो ।

    देशमा आर्थिक पारदर्शिता र सुशासनका लागि निर्वाचन प्रणाली स्वच्छ हुन जरुरी छ । पैसाले मतदाता प्रभावित गरेर जितेर आउने नीति-निर्माता (सांसदले) देशमा सुशासन ल्याउन सक्दैनन् । यदि राजनीतिक दल, नेता-कार्यकर्ता वा उम्मेद्‌वार जो सुकैबाट पनि आचारसंहिता उल्लंघन भएको अवस्थामा कठोर कदम चाल्न आयोग पछि नपरोस् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले तदारुकता देखाओस् साथै राजनीतिक दलहरुले पनि आयोगको यो तदारुकतालाई स्वच्छ मनले साथ देओस् । तेस्रो आँखा परिवार पनि पनि निर्वाचन भयरहित वातावरणमा सम्पन्न होस् भन्ने चाहना राख्छ ।

  • सम्बन्धित विषय:

  • # सम्पादकीय

  • तेस्रो आँखा