• ट्रेण्डिङ्ग :
कृष्णजन्माष्टमीले सामाजिक सद्भाव अभिवृद्धि गर्छः मुख्यमन्त्री आचार्य

कृष्णजन्माष्टमीले सामाजिक सद्भाव अभिवृद्धि गर्छः मुख्यमन्त्री आचार्य


  • 2.0K
    SHARES
    • भाद्र १९, २०८३ शुक्रबार
    • २ हप्ता अघि
    • 3.1K Views

    कृष्णजन्माष्टमीले सामाजिक सद्भाव अभिवृद्धि गर्छः मुख्यमन्त्री आचार्य

    गुल्मी, भदौ १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृष्णजन्माष्टमी पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्दै समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभएको छ। कृष्णजन्माष्टमीको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले भगवान् श्रीकृष्णले सत्य, न्याय, कर्तव्य, सदाचार र मानव कल्याणका पक्षमा दिनुभएको सन्देश आजको समाजका लागि पनि उत्तिकै प्रेरणादायी र मार्गदर्शक रहेको उल्लेख गर्नुभएको हो।

    images

    उहाँले अन्याय, अत्याचार र सामाजिक विकृतिविरुद्ध सत्य तथा न्यायको पक्षमा दृढतापूर्वक उभिन कृष्णजन्माष्टमी पर्वले प्रेरणा प्रदान गर्ने बताउनुभयो। धार्मिक तथा सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव र एकता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ छ। मुख्यमन्त्री आचार्यले धार्मिक तथा सांस्कृतिक पर्व र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमार्फत लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोड्न सकिने बताउनुभयो।

    धार्मिक तथा सांस्कृतिक पर्यटनको विकास प्रदेशको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार बन्न सक्ने भएकाले यसको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो। यस वर्षको कृष्णजन्माष्टमी विषम र पीडादायी परिस्थितिका बिच मनाउनुपरेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले प्राकृतिक विपद्का कारण देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। विपद्का कारण धेरै परिवारले आफन्त गुमाएको र सयौँ नागरिक विस्थापित तथा प्रभावित भएको भन्दै उहाँले प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभयो।

    विपदमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री आचार्यले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्तगर्नुभयो। विपद्को कठिन परिस्थितिमा उद्धार, राहत, पुनःस्थापना तथा विपद् व्यवस्थापनका लागि सबै पक्षबिच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो। राज्यका सबै तहका सरकार, राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्था, नागरिक समाज तथा आम नागरिकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।


    तेस्रो आँखा