काठमाडौं । अघिल्लो साता परेको अविरल वर्षाका कारण चन्द्रागिरि नगरपालिकाका धेरै स्थानमा भौतिक क्षति पुगेपछि त्यसको थप अध्ययन गर्न सङ्घीय सरकारको टोली प्रभावित स्थानमा पुगेको छ ।
चन्द्रागिरि नगरपालिका–३ स्थित देउराली, माथिल्लो मसिने, तल्लो मसिने र ढुङ्गेनीमा बढी नोक्सान भएको पालिकाकी वरिष्ठ अधिकृत भद्रा अर्यालले बताइन् । 'इन्द्रथान जाने सडक र कङ्काली माध्यमिक विद्यालयको आवसीय भवन परिसरमा सर्वाधिक क्षति भएको छ', निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्।
निरीक्षणमा उनीसहित जलस्रोत तथा ऊर्जा मन्त्रालयका प्राविधिकहरु सहभागी थिए । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पनेरुले आवासीय भवन पछाडिको करिब ७५ फिट जमिन भासिँदा भवन नै जोखिममा परेको बताए । 'थप क्षति हुन नदिन तत्काल घेराबारा लगाउनुपर्ने स्थिति छ' उनले भने ।
चन्द्रागिरि नगरपालिका–१३ र १५ मा डेढ सयभन्दा बढी घर डुबानमा परेको पनि अर्यालले बताइन् । खासगरी खोला किनारका बस्तीहरुमा १७ वर्षयताकै सर्वाधिक ठूलो बाढी आएका कारण यस्तो डुबान भएको उनको भनाइ छ । पानीले घना रूखबिरुवा भएका स्थानहरुमा समेत पहिरो गएका र कतिपय पहिराको सम्भावना नभएका बस्तीमा समेत घर जोखिममा पर्ने गरी पहिरो गएको उनले बताइन् ।
अधिकृत अर्यालले नगरपालिकाको एक महत्पूर्ण पर्यटकीय स्थल इन्द्रथान जाने बाटोका दर्जनौँ स्थानमा पहिरो गएको र खुलाउनका लागि डोजर प्रयोग गरिएको बताइन् । 'आजसम्म पनि सबै स्थानको पहिरो पन्छाउन सकिएको छैन । डोजरको सहायताले आवागमन खुलाउन खोजिरहेका छौँ', उनले भनिन् ।
बर्षातकै क्रममा देउरालीमा पहिरो जाँदा एकै घरका तीनजनाको मृत्यु भएको थियो । नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्च एवं तत्कालीन राहतका रूपमा रु ५० हजार दिने नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए । राहत र उद्धारका सबै व्यवस्थापन नगरपालिकाले मात्र गर्न नसक्ने भएकाले संघीय सरकारलाई पत्राचार गरिएको पनि उनले बताए ।
