म्याग्दी, कात्तिक ६ । दसैँको घमाइलो मौसममा खुलेको हिमाल र पाक्न थालेको धानले पहेँलपुर बनेका खेतको फाँटले ग्रामीण क्षेत्रको सौन्दर्य मनमोहक बनेको छ ।
निलो आकाशमुनि टल्किएको हिमाल र सुनौलो रङमा बदलिँदै गरेको धानखेतको दृश्यले प्रकृतिको अनुपम छटा झल्काएको छ । बेनी नगरपालिका –९ तोरीपानीमा पाक्न थालेको धानको पहेँलपुर फाँट र पृष्ठभूमिमा खुलेका धवलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृश्यले प्रकृतिको अनुपम सुन्दरता झल्काएको छ ।
बेनी बजारदेखि करिब ३० मिनेटको सडक यात्रामा पुग्न सकिने प्राकृतिक सौन्दर्यले भरिपूर्ण तोरीपानीमा स्थानीयवासीले होमस्टेसमेत सञ्चालन गरेका छन् । हिमाल र ग्रामीण जीवनशैलीको अनुभव लिन चाहने पर्यटकको लागि तोरीपानी आकर्षक गन्तव्यको रूपमा रहेको छ ।
