म्याग्दी कात्तिक ६ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढीपहिरो र नदी कटानका कारण क्षतिग्रस्त म्याग्दी र पर्वतको विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ ।
उहाँले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडक, बेनी–दरबाङ सडकको फापरखेत पहिरो, बेनी खानेपानी आयोजनामा पुगेको क्षति तथा पर्वतको जलजला गाउँपालिका –८ स्थित फर्सेबजार क्षेत्रको निरीक्षण गर्नुभएको हो ।
पर्वत र बागलुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सागर लामिछाने र सोम शर्मा लगायत स्थानीय जनप्रनिधिसहित मन्त्री लम्साल बाढीपहिरो क्षेत्रको अनुगमनमा जानुभएको थियो ।
अनुगमनका क्रममा मन्त्री लम्सालले बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधारको अवस्था, सडक सञ्चालनमा देखिएका समस्या, खानेपानी आपूर्ति र विपद्बाट प्रभावित नागरिकको पुनःस्थापनाका विषयमा स्थानीय जनप्रतिनिधि तथा बासिन्दासँग छलफल गर्नुभयो ।
छलफलको क्रममा उहाँले सरकारले विपद् व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको विभिन्न स्थानमा भएको क्षतिको अवलोकन गर्नुहुँदै मन्त्री लम्सालले सरकारले सडक पुनर्निर्माण प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले कोरला नाका जोड्ने सडक भएकाले मर्मतसम्भार र पुनर्निर्माणलाई सरकारले कुनै कसर बाँकी नराखी काम अगाडि बढाउने बताउनुभयो । अनुगमनको क्रममा मन्त्री लम्साललाई सडकमा पुगेको क्षति, पहिरोका कारण उत्पन्न जोखिम र सडकलाई सुरक्षित तथा सहज रूपमा सञ्चालन गर्न आयोजनाले गरेको कामका बारेमा बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी गराउनुभएको थियो ।
यसैगरी, बेनीमा भएको भेटको क्रममा बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले बाढीबाट क्षतिग्रस्त खानेपानी संरचनाको पुनर्निर्माण र नियमित आपूर्ति व्यवस्थापनका लागि आवश्यक बजेट तत्काल उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, पोखरामार्फत क्षतिको विवरणसहित माग गरिएको बजेट उपलब्ध गराएर खानेपानी आपूर्ति सहज बनाउन मन्त्रीसमक्ष आग्रह गरिएको अध्यक्ष गिरीले बताउनुभयो । भेटको क्रममा मन्त्री लम्सालले टेन्डर प्रक्रियामार्फत काम तत्काल सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो ।
मन्त्री लम्सालले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेबजार क्षेत्रको समेत स्थलगत अनुगमन गर्नुभयो । असोज ११ गते कालीगण्डकीमा आएको बाढीले फर्सेका ६५ घर बगाएको थियो । सो क्रममा स्थानीय जनप्रतिनिधि र बासिन्दाले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, प्रभावित नागरिकको उचित पुनःस्थापना तथा कालीगण्डकी नदीमाथि फर्से–छिपछिपे जोड्ने मोटरेबल पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका थिए ।
जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जिसीले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा स्थानीयको आवागमन सहज बनाउन आवश्यक योजनालाई प्राथमिकताका साथ अघि बढाउन मन्त्रीसमक्ष अनुरोध गर्नुभएको थियो । उहाँले झोलुङ्गे पुल कालीगण्डकीले बगाएका कारण बागलुङको ढोडेनी र फर्सेसँगको सम्बन्ध विच्छेद भएकाले जनजीवन प्रभावित भएको मन्त्रीसमक्ष जानकारी गराउनुभएको थियो ।
कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएमा जलजला गाउँपालिका–८ को फर्से र बागलुङ नगरपालिका–४ को छिपछिपेसहित आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज हुने भएकाले सरकारले पुल निर्माणलाई प्राथमिकतामा राख्न उहाँले अनुरोध गर्नुभयो ।
यसैगरी मन्त्री लम्सालले म्याग्दीको पश्चिम भेगलाई सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानास्थित फापरखेत पहिरोको पनि अनुगमन गर्नुभएको छ । फापरखेत पहिरोका कारण यहाँ यातायात अवरुद्ध हुने गरेको छ ।
मन्त्री लम्सालले सरकारले चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि चार करोड रुपियाँ विनियोजन गरेकाले अब चाँडै ठेक्कामार्फत काम सुरु गर्ने जानकारी दिनुभयो ।
