तुलसीपुर, ३० असाेज । दाङकाे तुलसीपुर उपमहानगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरूले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५९ लाख ३३ हजार ४ सय ६५ रुपैयाँ सहयोग गरेका छन्।
तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको पत्रअनुसार कर्मचारी तथा शिक्षकहरूको २०८३ भदौ महिनाको तलब भत्ताबाट रकम कट्टी गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
रसुवा जिल्लाको भोटेकोसी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी र पहिरोका कारण ज्यान गुमाएका, बेपत्ता भएका तथा घाइते भएका नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम सहयोग गरिएको कार्यालयले जनाएको छ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कर्मचारी तथा शिक्षकहरूले आफ्नो तलब भत्ताबाट रकम कट्टी गरी सहयोग गरेका हुन्।
उपमहानगरपालिकाका वरिष्ठ लेखा अधिकृत प्रदीपकुमार वली र प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र शिवाकोटीद्वारा हस्ताक्षरित पत्रमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी गराइएको छ।
विपद्का बेला जनताको दुःखमा साथ दिने उद्देश्यले गरिएको यस सहयोगले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा योगदान पुग्ने अपेक्षा गरिएको छ।
