रोयल्टी अर्थात् स्वामिस्व । यसलाई लेखकस्व पनि भन्छिन् । धेरैलाई थाहै छैन । कि, ‘गीत–संगीतमा पनि रोयल्टी छ । स्रष्टाले पाउनुपर्छ । त्यो अधिकार हो ।’ नेपालमा रोयल्टी संस्थाका नाममा लाखौँ उठाएर हजम गर्नेहरू भएका कारण पनि यस्ता कुराहरू गुपचुप रहन्छन् । त्यसमाथि झन् गीत–संगीत ? कलाकारितातिर दबिएको र दबाइएको विषय हो । तर, इतिहास पानाहरू सरसर पल्टाउँदा कहिलेकाहीँ छोपिएका कुराहरू पनि छर्लंग हुन्छन् ।
गीत–संगीतको रोयल्टीमा पनि उस्तै छ । राष्ट्र कविले उबेला रोयल्टी पाए । त्यो पनि सम्मान स्वरुप । उनले पाएकै बिन्दुबाट संगीत रोयल्टी संस्थाहरूको विलय सुरुभयो । पर्दापछि यो कुरा के हो ? आखिर यसको प्रभावकारिता कसरी खस्कियो ? कानुनी पाटोहरू के छन् ? यसको अधिकार क्षेत्र कति ? १६ वर्ष पहिला सुरु भएको रोयल्टी संस्था विलयको विन्दुमा कसरी पुग्यो ? ‘तेस्रो आँखा डटकम’को संवादमा अतिथिमार्फत तपाईंलाई यही थाहा हुनेछ ।
साथै, रोयल्टी भनेको के हो ? यसको इतिहास के छ ? कसरी संकलन गरिन्छ ? कसरी वितरण गरिन्छ ? कसरी प्रभावकारी बनाउन सकिन्छ ? कतिलाई वितरण गरियो ? स्रष्टाले रोयल्टी पाउन कस्तो मापदण्ड अपनाउनुपर्छ ? तेस्रो आँखाकर्मी केशव भट्टराईका यी र यस्तै जिज्ञासासित, संगीत रोयल्टी संकलन समाजका महासचिव बी.पाण्डे छन् :
के हो रोयल्टी ? कस्तो छ यसको इतिहास ?
प्रतिलिपि अधिकार ऐन २०५९ र त्यसको इम्पिलमेन्टको लागि बनाइएको नियमावली २०६१ पछि धेरै किसिमको प्रयासहरू भयो । कानुनमा त स्रष्टाको अधिकारलाई संरक्षण गर्नुपर्छ र स्रष्टाको रोयल्टी अधिकार भन्ने कुरा असाध्यै महत्त्वपूर्ण कुरा हो भनेर जनाइयो । तर, व्यवहारगत त्यो विषय लिएर आउन १६ वर्ष लाग्यो । प्रतिलिपि अधिकार ऐनअन्तर्गत संगीत रोयल्टी संकलन समाज नेपाल नामको संस्थाले संस्था दर्ता भएको १६ वर्षपछि योपटक हामीले केही यातायातबाट केही रेडियोहरूबाट संकलन भएको रोयल्टीलाई बाँड्नका लागि उपयुक्त वातावरण बनायौँ । १६ वर्षपछि पहिलोपटक खुसीको कुरा थियो । तर, इतिहास हेर्दा पहिलोचोटि २०६६ सालतिर म्युजिक नेपालले करिब २ लाख २५ हजार रोयल्टी दियो । अनि, रोयल्टी संकलन समाजमा संकलन गरेर सुरु भएको देखिन्छ । त्यहीँ समय राष्ट्रकविलाई ३ हजार १ सयको रोयल्टी दिएर स्रष्टालाई रोयल्टी दिन सुरु गरेको इतिहास छ । तर १ हजार ६ सय ७ स्रष्टालाई एकैचोटि दिएको यो पहिलोपटक हो । आरबीटी, सीआरबीटी, पीआरबीटीबाट प्राप्त भएका केही डाटा खुलेका रोयल्टीहरू ! जस्तो, मेरो गीत यतिचोटि डाउनलोड भयो, यतिले हेरे थाहा पाउन सकिन्छ । त्यो खालको रोयल्टीहरू बीचका समयमा पनि एनसेल, एनटीसीहरूबाट प्राप्त भइरहेको र निश्चित केही स्रष्टाहरूले लगिरहेको बाहेक अरू धेरै स्रष्टाहरूले रोयल्टी अहिलेसम्म दिइएको थिएन । धेरैको संख्यामा हामीले यसपालि रोयल्टी बाँड्यौँ ।
यो रोयल्टीले कति स्रष्टा खुसी भए ? कि चित्त बुझाउने काम मात्रै भयो ?
चित्त बुझाउने कुरा त धेरै परको हो । यो त सुरुवात मात्र भयो । सुरुवातको हिसाबमा ढिला भयो । धेरै समय लाग्यो १६ वर्षको मेहनत यसमा कतितिर इर्फोट लगाउनुपर्यो होला ? स्रष्टाहरूले कति मर्दाखेरी सद्गत गर्ने पैसा भएन भन्ने हिसाबले पनि कति स्रष्टाहरूको पीरमर्का सुन्दै आइराखेको तपाईं/हाम्रै मिडिया बजारबाट आएको हो । हामीले प्रस्ट देखिरहेका छौँ । तर, रोयल्टीको व्यवस्था भयो भने यो खालको अवस्थाबाट स्रष्टालाई उद्घार हुन्थ्यो । भन्नेखालको कुराहरूको धेरै भयो । यी सबै कुराहरू भइरहँदा पनि उचित व्यवस्थापन कागजमा मात्रै सीमित भए । व्यवहारगत ती व्यवस्थापन भएनन् । अब, विस्तारै त्यसको व्यवस्थापनमा एउटा सानो सफलता अहिले प्राप्त भयो र विगत समयदेखि संकलन भएको रोयल्टीहरूलाई यसपालिदेखि हामीले बाँड्न सुरु गर्यौं । स्रष्टाहरूले रोयल्टी लिनुभएको छ । यसमा धेरै कुराहरू कमी–कमजोरीहरू नभएको त कुरै छैन । स्रष्टाहरूमा एक किसिमको उत्सुकता खुसीयाली पक्कै छ । यो प्रत्येक वर्षभन्दा पनि ३ महिनामै पाउनुपर्ने कुरा हो । हामीले प्रत्येक जेठ २५ गते यो संस्थाको जन्मोत्सव पर्छ त्यसैले संगीत रोयल्टी संकलन समाजले जन्मोत्सव मनाइरहँदा स्रष्टाहरूले रोयल्टी बुझेर आफ्नो हातमा राखेर मनाउन पाउन् भन्ने अभियानलाई हामीले यसपालिदेखि सुरु गरेका छौं । प्रत्येक वर्षको जेठ २५ गते रोयल्टी वितरण गर्ने कार्य योजनामा हामीले राखेका छौं । तथापि यो कार्य योजना ३ वा ४ महिनामा हुनुपर्छ ।
यो रोयल्टीबारे स्रष्टाले कसरी थाहा पाउने ?
एक हिसाबले रोयल्टी भनेको स्रष्टाको प्रवर्द्धन हो । पाउनुपर्ने अधिकार हो । प्रतिलिपि अधिकार भित्र २ वटा अधिकारहरू हुन्छन् एउटा नैतिक अधिकार र अर्को आर्थिक अधिकार । आर्थिक अधिकार भित्र पनि रोयल्टीको अधिकार आर्थिक अधिकारसँगै टाँसिएर आएको हुन्छ । एउटा स्रष्टाले आफूले गरेको सिर्जनालाई आफ्नो घर सम्पत्ति जग्गा जमिन बराबरको मान्यता प्राप्त गर्छ भन्ने कुरा संविधानको धारा २५ ले सम्पत्तिको हकमा पहिलो दफामै लेखिएको छ । सम्पत्ति सम्बन्धी अधिकारमा बौद्घिक सम्पत्ति पनि पर्छ । त्यसैले मेरो सम्पत्तिलाई मैले कसैलाई बेच्न सक्छु, प्रयोग गर भनेर दिनसक्छु त्यसको सम्पूर्ण अधिकार म सँग हुन्छ । त्यो मेरो आर्थिक अधिकार भित्र हुन्छ । मैले गरेको सिर्जनामा जहिले पनि मेरो नाम हुनुपर्छ । घरजग्गा जमिन बेच्नुभयो भने अर्काको नाममा पुर्जा हुन्छ तर यहीँ गीत संगीत तपाईंले किन्नुभयो भने पनि नाम मेरो हुन्छ । बिक्री वितरण व्यापार यसको पनि हुन्छ तर सिर्जना बेच्दा किन्नेले किन्नुहुन्छ तर नामचाहिँ बेच्नेको नै हुन्छ ।
रोयल्टी र स्रष्टाबीच के फरक ?
कुनै पनि स्रष्टाले गरेको सिर्जनालाई कसैले सार्वजनिक रुपमा वा मासमा प्रयोग गर्छ भने उसले रोयल्टी तिर्नुपर्छ भन्ने रोयल्टीको मुख्य सिद्घन्त हो । जस्तोः तपाईं रेस्टुरेन्टमा जानुहुन्छ ५० रुपैयाँ तिरेर चिया कफी आनन्दले बजिरहेको गीतमा डुबेर खानुहुन्छ । होटेलमा जानुहुन्छ २०० को बियरलाई ५०० तिरेर संगीतको मनोरञ्जसहित पिउनुहुन्छ , यसको अर्थ के हो भने त्यो गीत–संगीत प्रयोग गरेर तपाईंले जुन व्यापार गर्दै हुनुहुन्छ त्यस्तो ठाँउबाट उसले आफूले कमाएको हिस्साबाट केही थोरै रकम छुट्याएर स्रष्टालाई दिनुपर्छ भन्ने कुरा रोयल्टी हो । र, यसलाई रोयल्टी भनिन्छ । बिजनेसकै पूरा हिस्सा छुट्याएर दिनु रोयल्टी होइन । त्यो आपसी समझदारीमा तय हुने कुरा हो । सार्वजनिक प्रयोगमा जब तपाईंले मेला महोत्सवमा टिकट बेचेर गीत–संगीतको प्रयोग गर्नुहुन्छ गाडीमा यात्रु हुन्छन्, गीत–संगीत बजाउँदै कुदाउनुहुन्छ, रेडियोमा गीतहरू बजाउनुहुन्छ । मानिसहरू घरमा आन्दले सुनिरहेका हुन्छन् । त्यस्ताखालका सार्वजनिक प्रयोगहरूबाट उसले आफूले कमाएको आम्दानीबाट स्रष्टाहरूले पनि केही रोयल्टी पाउनुपर्छ भन्ने धारणा रोयल्टी हो ।
रोयल्टी सन्दर्भ, नेपाल र बाहिर के भिन्न देख्नुहुन्छ ?
कुनै पनि ठाउँमा व्यक्ति र सरकार भन्ने हुँदेन । अर्काको सिर्जना प्रयोग गर्छ भने रोयल्टी तिर्र्नैपर्छ भन्ने हाम्रो धारणा हो । विदेशमा त यसलाई परिपक्व रूपमा प्रस्तुत गरिएको छ । त्यहीँनुसार, अगाडि पनि बढिसकेको छ । मूलतः हामीले अहिलेसम्म रोयल्टी भनेर सार्वजनिक रूपमा प्रयोग भइराखेको कुरालाई बुझेका छौँ । किनकि, हाम्रो ऐनले नियमावलीले सार्वजनिक रुपमा प्रयोग भएकोले रोयल्टी पाउनुपर्छ भनेको छ व्यक्तिगत प्रयोजनमा जोडिएको छैन । व्यक्तिले गीत–संगीत लिनुहुन्छ हेडफोन लगाएर सुनुहुन्छ भने लिएको स्रोतलाई नै बुझाउनुहुन्छ भन्ने छ । तर त्यसलाई नै तपाईंले ठूलो ठाउँमा बसेर आवाज ठूलो बनाएर, बजाएर सुन्नुहुन्छ भने त्यो सार्वजनिक प्रयोग हुन्छ र त्यसको रोयल्टी तिर्नुपर्छ भन्ने कानुनमै व्यवस्था गरेको छ । यो कानुनकै घेरा हो यो भित्र सबै आउनुपर्छ, तपाईंहरू सबैलाई दिनुहोस्, स्रष्टाको रोयल्टी तिरिदिनुहोस् स्रष्टाका लागि सहयोग गरिदिनुहोस् तपाईहरूले रोयल्टी तिरेर स्रष्टाको आय–आर्जन राम्रो भयो भने तपाईंहरूका लागि फेरि नयाँ–नयाँ राम्रो सिर्जना आउँछ । तपाईंहरू अझ धेरै खुसी हुन पाउनुहुन्छ ।
धेरै कमी–कमजोरी छ तर एउटा चित्त बुझाउने माध्यमचाहिँ राज्यले प्रतिलिपिसम्बन्धी अधिकार हेरिदिएको छ । एउटा ऐन बनाइदिएको छ त्यसलाई लागु गर्दै जाने क्रममा विभिन्न कमी–कमजोरीहरू आउँछन् र त्यसलाई सुधार गर्दै जानुपर्छ । भन्ने कुरा अहिलेको आवश्यकता हो । किनकि, एकैचोटि सबैकुरा राम्रो मिलेको कसैको पनि आएको हुँदैन । तर सफा नियतले स्रष्टाको रोयल्टी व्यवस्थापन गर्ने भन्ने अभियानलाई जानेर बुझेर पढेर अध्ययन गरेर छलफल गरेर अगाडि बढिदियो भने यो व्यवस्थापन हुन्छ जस्तो लाग्छ ।
स्रष्टाले कतिसम्म रोयल्टी पाएको तथ्यांक छ ?
पछिल्लो समय हामीले बाँडेकामा एउटा स्रष्टाले २ लाख ४० हजार सम्म पाउनुभएको छ । सबैभन्दा कम पाउने स्रष्टाले पनि ११ सय प्राप्त गर्नुभएको छ । ट्याक्स कटाएर ११ सय पाउनुहुन्छ ।
कति स्रष्टाहरूले रोयल्टी पाइन्छ भन्ने कुरा विश्वास नै गर्न सकेका छैनन् यसको त थोरै केही सिस्टम त बनाउनुपर्यो नि ! रोयल्टी संकलन समाजले केही सिस्टमहरू यसरी बनायो कि उहाँहरूले प्रकाशन गरेका गीत–संगीतहरू दर्ता गरेको हुनुपर्छ भन्ने भयो । त्यसपछि उहाँहरूको सिर्जना कतिवटा छ भन्ने कुरा भयो योगदान कति छ भन्ने कुरा हेर्न सकिन्छ यी सबै कुरामा कमी भएका स्रष्टाको गीत–संगीतमा जस्तै म एउटा नाम लिइहाल्छु मेरै संस्थाको अध्यक्ष हुनुहुन्छ सुरेशचन्द्र अधिकारीजी उहाँको लगभग धेरै गीतहरू छन् होला तर संगीत रोयल्टी संकलन समाजमा ७५ देखि ८० वटा गीत मात्र दर्ता भएको रहेछ । धेरै मापदण्डमध्ये २७ रुपैयाँप्रति गीत पनि एउटा मापदण्ड थियो । भनेपछि उहाँको हजारवटा गीत दर्ता भएको भए २७ हजार रुपैयाँ पाउनुहुन्थ्यो नि ! तर ७० वटा गीत मात्र दर्ता भएकाले १८९० मात्र पाउनुभयो । त्यो कारणले स्रष्टाहरूको गीत संकलन कम भएको कारणले केही स्रष्टाहरूले रोयल्टी कम पाउनुभएको हो । रोयल्टी समाजको उद्देश्य नै कलाकारलाई रोयल्टी बाँड्नु हो ।
रोयल्टी संस्थाहरू कति छन् ? कस्ताले पाउँछन् रोयल्टी ?
वास्तवमा हाम्रो नेपालको सन्दर्भमा पाँचवटा पक्षले रोयल्टी पाइरहेको हुन्छ, गीतकार, संगीतकार, गायक, प्रोड्युसर र पब्लिसर यी पाँच पक्षले रोयल्टी पाउनुपर्छ भन्ने हाम्रोमा व्यवस्था छ । अहिले पब्लिसरभन्दा बाहेक प्रोड्युसर, गीतकार, संगीतकार, गायकले रोयल्टी पाइरहेको अवस्था हो । जस्तै अहिले संगीत रोयल्टी समाज भनेको चाहिँ गीतकार, संगीतकार र पब्लिसरहरूको रोयल्टी संकलन गर्छ । अन्तर्राष्ट्रिय स्तरमा पब्लिसरलाई पनि जोड्नुपर्ने भएकाले हामीहरूले पब्लिसरहरूलाई पनि जोडेका हौँ । गीतकार तथा संगीतकारहरूले रोयल्टी पाउनुभयो हाम्रा तर्फबाट हामीले रोयल्टी दियौं । संगीत तथा चलचित्र समाजले उत्पादकहरूको रोयल्टी संकलन गर्छ र वितरण गर्छ । त्यस्तै प्रस्तोता समाजले गायकहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने काम गर्छ । यसरी जम्मा यी चार पक्षलाई तीनवटा संस्था मिलेर काम गरिरहेको अवस्था छ ।
रोयल्टी उठाउने संयन्त्र कस्तो छ ?
रोयल्टी उठाउने सरकारी संयन्त्र छैन । रोयल्टी उठाउने कुरा सरकारी संयन्त्रभित्र होइन । राज्यले प्रतिलिपि अधिकार ऐनअन्तर्गत रोयल्टी संकलन समाजलाई तिमीहरू आफैं राज्य हो भनी परिकल्पना गरिदिएको छ । स्रष्टाहरू सर्जकहरू तिमीहरू आफैं राज्य हो । जस्तै, तिम्रो गीत बजाएबापत कति तिर्ने हो तिमी आफैं निर्धारण गर, कसको गीत कहाँ बज्यो त्यसको डाटा तिमी आफैं जम्मा गर, कसलाई कति बाँड्ने हो तिमी आफैं बाँड र त्यसको जानकारी प्रतिलिपि रजिस्ट्रार कार्यालयलाई देऊ सीधै यस्तो भनेर नयाँ अधिकार दिएको छ कि मेरो गीत बजाएबापत तैंले यति तिर्नुपर्छ भनेर तोक्ने अधिकार संगीत रोयल्टी संकलन समाजलाई दिएको छ । त्यसैले सरकारले तिमीले यति रोयल्टी लैजाऊ भन्ने ठाउँ नै राखेको छैन । उसले यो सबै स्रष्टाहरूको सम्पत्ति हो उनीहरूलाई नै जिम्मा दिनुपर्छ भनेर त्यो पूरै अधिकार नै स्रष्टाहरूलाई दिएको अवस्था छ ।
अक्षयकोष खडा छ भन्ने छ नि ?
रोयल्टीसम्बन्धी त होइन तर यसपालि साधारणसभाबाट यो संस्थामा जब हामी आयौं । म एउटा महासचिवको रोल गर्दै आएँ । पछि हामीले बृहत् छलफल गरेर विभिन्न मापदण्डमा अध्ययन गर्दा त्यसमा एउटा कोषको पनि परिकल्पना गरेको भेटियो । त्यसपछि करिब हामीले एक करोड एक लाख रुपैयाँ वितरण गर्दा त्यसको ५ प्रतिशत कोषमा राख्ने भन्ने व्यवस्थालाई देखेपछि हामीले एउटा संगीत रोयल्टी कल्याणकारी संस्था स्थापना गर्ने कुरालाई कार्यसमितिबाट पारित गरेर कोषको व्यवस्था सुरु गरेका छौँ । हामीले प्रत्येक वर्ष कोषमा संकलन भएको रोयल्टीको ५ प्रतिशत रकम कोषमा संकलन गर्दै जाने र त्यसले भोलिका दिनमा कपिराइटसम्बन्धी कार्यक्रम गर्न हुन्छ । संस्था सञ्चालनका लागि सपोर्ट हुनसक्छ । प्राविधिक पक्षहरू भेला गर्नुपर्यो भने उनीहरूलाई खर्च दिनहुन्छ । अथवा स्रष्टाहरूलाई गाह्रो साँघुरो पर्यो भने त्यहाँ खर्च गर्न मिल्छ भन्ने उद्देश्यले त्यो खालको कोषको परिकल्पना गरेका छौं अहिले ।
रोयल्टी पारदर्शी हुन्छ भनेर कसरी पत्याउने ?
रोयल्टी संकलन हुने कुराको खासै अनुमान हुँदेन । किनभने, यो वर्ष धेरै कलेक्शन हुन पनि सक्छ अर्को वर्ष कम कलेक्शन हुन पनि सक्छ । हिजोको वर्षमा छँदै थिएन होला कुनै वर्ष कुनै वर्ष तोकेको लक्ष्यभन्दा बढी पनि हुन सक्छ । यो सबै रोयल्टी उठाउने प्रक्रिया प्रयोगकर्तालाई कति चित्त बुझाउन सकिन्छ यी सबै कुरामा भर पर्दो रहेछ । यी सबै कसरालाई हेर्दा पारदर्शिता भनेको अब हामी डिजिटल रूपमा प्रस्तुत हुनपर्छ हिजोको जस्तो खाता लेख्ने ढड्डा लेख्ने चलन त अब हराउँदै छ त्यसैले अब यसलाई डिजिटलाइज्ड गर्ने जस्तै जसलाई हामी मेम्बर बनाउँछौं डिजिट्ल्ली उहाँहरूको एकाउन्टमै जाने व्यवस्था हुनुपर्छ । भन्ने खालको व्यवस्थाको तयारीमा छौं । यसमा हाम्रो व्यापक छलफल भएको छ तर त्यसको लागि प्राविधिकहरूको एकदमै ठूलो भूमिका हुने र प्राविधिकहरू हायर गर्न उहाँको तलब भत्ताको व्यवस्थापन गर्न पनि त हामी सक्षम हुनुपर्यो नि पृष्ठभूमिमा त्यो सक्षम भयो भने न हामी त्यो सिस्टम बनाउन सक्छौं । सिस्टम त यत्तिकै बन्ने कुरा होइन । यो तयारीमा हामी छौं अब पारदर्शी बनाउनुपर्छ भन्नेमा हामी छौं ।
दर्ता भएको १६ वर्षपछि बल्ल रोयल्टी वितरण ?
सुरुवात नै नराम्रो भन्दा नि यसको सुरुवात भएको १६ वर्ष भइसक्यो । त्यसैले जहाँ रोयल्टी संकलन हुन्छ र सम्बन्धित स्रष्टाको हातमा पुग्दैन भने हिनामिनाको कुरा आउने त एकदम स्वभाविक कुरा हो । जस्तो, पाँच सात वर्षदेखि रोयल्टी संकलन भइरहेको यातायातहरूले, रेडियोहरूले रोयल्टी तिरिरहेको छुटफुट हो तर नबाँडिएको अनि त्यहाँ हिनामिना भएर बाँडिएन भन्ने कुरा हो नि त ।
हिजो म यो संस्थाको सदस्य हुँदा यो संस्थाभन्दा बाहिर हुँदा मैले पनि यो कुराहरू भन्थें रोयल्टी संकलन भइराखेको छ तिमीहरू किन बाँड्दैनौं ? बाँड्नुपर्यो नि भन्ने कुरा हुन्थ्यो । त् जब म संस्थामा आएँ मेरो एजेन्डा भनेको रोयल्टी बाँँड्नुपर्छ भन्ने हो । स्रष्टाको रोयल्टी हिनामिना हुन्छ भने यो त नराम्रो कुरा हो । बिडम्बनाको हो त्यसैले हिनामिना त्यस्तो छ भने छानबिन गर्नुपर्यो त्यही भएर विभिन्न किसिमका समितिहरू बने । रोयल्टी संकलन समाजमा उनीहरूले छानबिन गर्दा कहीँ कतै त्यस्तो हिनामिना देखिएन । त्यसपछि संस्थामा जति पैसा छ स्रष्टाको हातमा पुर्याउनुपर्छ भन्ने मेरो पहिलो एकल एजेन्डा थियो ।
कार्यसमितिमा साथीहरूलाई मैले कन्भिन्स गर्न सफल भएँ अध्यक्षज्यू लगायत सम्पूर्ण सदस्यहरूले स्रष्टाको रोयल्टी बाँड्ने संस्थामा भएको स्रष्टाको पैसा एक रुपैयाँ पनि नराख्ने भन्ने कुरालाई पास गर्यो र बचेको पैसा जति थियो हामीले रोयल्टीका रूपमा बाँड्ने भनेर बाँड्यौं । अहिले १६७१ जनामध्ये लगभग ५० प्रतिशतले रोयल्टी लगिसक्नुभएको छ । बाँकी रहेका स्रष्टाहरू अफिसमा दिनहुँ आउनुहुन्छ उहाँहरूले आफ्नो किसिमको चेकहरू लगिराख्नुभएको छ । उहाँहरूको रोयल्टीलाई छुट्टै खाता बनाएर राखिराखेका छौं त्यसबाट कुनै पैसा चलाउन पाइँदैन । त्यो रोयल्टी मात्र हुन्छ छुटिसक्यो अब भोलि स्रष्टाका लागि नेतृत्व गरेर आँउछु भन्ने अन्य स्रष्टा साथीका लागि पनि नयाँ ठाउँबाट कलेक्सन गर्ने अनि बाँड्ने हो त्यो हिजोको रोयल्टीलाई फेरि बाँड्ने कुरा भएन त्यो त स्रष्टाको हातमा पुगिसक्यो । खातामा गइसक्यो । बाँडीचुँडी भइसक्यो । त्यसो गरेर राखिरहेको अवस्था छ । त्यसरी स्रष्टाको रोयल्टी उठाएर बाँड्ने परम्परा भयो भने त हिनामिनाको कुरै आउँदैन । तपाईंले लगाएको आरोप विस्तारै साइट लाग्दै जान्छ ।
