- डि.बि. रावत / तेस्रो आँखा
काठमाडौं, १ पुस । कुनैताका तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रको कांग्रेसमा विजयकुमार गच्छदारकै ‘दबदबा’ थियो । कांग्रेसको नवौँ महाधिवेशनदेखि उनी केद्रीय समितिमा यो विकास क्षेत्रबाट एकल नेताका रुपमा चुनिदै आए । उनी पूर्वाञ्चलबाट केन्द्रीय सदस्य चुनिंदा मध्यपश्चिमाञ्ल विकास क्षेत्रबाट सुशील कोइराला, सुदूर पश्चिमबाट शेरबहादुर देउवा एकल नेता बनेर केन्द्रीय समितिमा चुनिन्थे ।
नवौँ महाधिवेशनदेखि पुर्वाञ्चल विकास क्षेत्रको प्रतिनिधत्व गर्दै केन्द्रीय समितिमा चुनिंदै आएका गच्छदारले १० औँ महाधिवेशनमा पनि आफ्नो विरासत् कायम राखे । ११औँ महाधिवेशनमा उनको त्यो विजययात्रा कांग्रेसभित्र कायम रहन पाएन । शेरबहादुर देउवाले कांग्रेस फोडेर प्रजातान्त्रिक कांग्रेस निर्माण गरेपछि उनी देउवाकै पछि लागे । उनी यो कांग्रेसको महामन्त्री बने ।
उनी १२औँ महाधिवेशनमा कांग्रेसमा रहेनन् । यो बेला प्रजातान्त्रिक कांग्रेसको महामन्त्री बनेका गच्छदारले १३औँ महाधिवेशनका बेला आफ्नो छुट्टै पार्टी निर्माण गरिसकेका थिए । मधेश राजनीतिलाई लक्ष्य गर्दै फोरम लोकतान्त्रिक पार्टी निर्माण गरेका उनी कांग्रेसको १३औँ महाधिवेशनमा फरक दलको प्रमुख नेता बनेर कांग्रेसका अतिथि बनेका थिए ।
पुरानो कांग्रेसप्रतिको ‘अगाध प्रेम’ गच्छदारभित्र मरेको रहेनछ । २०७४ को प्रतिनिधिसभा निर्वाचनको मुखैमा उनलाई फेरि कांग्रेस-प्रेमले जित्यो । उनी कांग्रेसमै फर्किए । पार्टीभित्र समानुपातिक प्रतिनिधित्वको एजेण्डासहित कांग्रेस फिर्ता भएका गच्छदारलाई देउवाले उपसभापति मनोनयन गरे । पुरानो घर फिर्ता भएका गच्छदार कांग्रेसभित्र दोस्रो बरियताको उँचो हैसियतमा रहे ।
यस अघि कांग्रेस छँदा देउवाकै समिपमा रहेका गच्छदारले अहिले पनि देउवा क्याम्पमै आफ्नो राजनीतिक भविष्य देखिरहेका थिए । फलतः आफ्नो मनोनयन उपसभापति पदलाई मतबाट प्रमाणित गर्न खोजे । १४औँ महाधिवेशनमा देउवाकै क्याम्पबाट उपसभातिका उम्मेदवार बने । तर अफसोच ! विजयको ‘विजय’ इच्छालाई मात्रै दुई मतले हराइदियो । उनी अब, पदीय हिसाबले देउवा कोटरीका ‘सामान्य नेता’ मात्रै बनेका छन् ।
गच्छदारले उपसभापतिमा विजयी भएर कांग्रेसभित्र आफ्नो उपस्थितिलाई बलियो बनाउनमात्रै चाहेका थिएनन् । कांग्रेसमा भित्रिएको आफ्नो पुरानो समूह ‘फोरम लोकतान्त्रिक’ को उपस्थितिलाई सुदृढ बनाउन चाहन्थे । कांग्रेसमा समाहित गराएर गच्छदारलाई उपसभापति बनाएका देउवाले उनको समूहको समायोजनमा भने चासो नदिएको गुनासो तत्कालीन फोरम लोकतान्त्रिक समूहमा कायमै छ ।
‘सम्मानजनक’ समायोजनको सहमतिमा कांग्रेसमा गाभिएको फोरम लोकतान्त्रिकका कैयन नेताले कांग्रेसमा समायोजन नभएको भन्दै गुनासो गरिरहेका छन् तर गच्छदारको हारससँगै यो समूहको समायोजन कति सम्मानजनक हुने भन्ने प्रश्न पनि उब्जाएको छ ।
उपसभापतिमा उनै देउवाको समूहबाट उम्मेदवार बनेका पूर्णबहादुर खड्का पहिलो स्थानमा रहँदै विजयी भए । खड्काले २१२१ मत प्राप्त गर्दा उनै देउवाकै समूहबाट उपसभाापतिमा उम्मेदवारी दिएका गच्छदार तेस्रो स्थानमा रहे । गच्छदार १९०६ मत प्राप्त गर्दै पराजित बने । नेता खड्का विजयी हुनु र उही समूहको आफू पराजित हुनुले गच्छदारको आशंका सिंगो देउवा समूहमाथि रहने सम्भवना रहन्छ नै । फलतः देउवासँगको सामिप्य केही खुकुलो हुने आँकलन गर्न सकिन्छ ।
