काठमाडौं , ६ पुस । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेका थिए ‘एक्लै हिँडे ओरालो लागिन्छ, एक्लै हिँड्ने अटेरी गरेका कारण ओरालो लागेका उदाहरण हामीले देखिसकेका छौँ ।’ मञ्चमै रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै दाहालको ‘ओरालो यात्रा’ बखान ओली लक्षित मात्रै थिएन, कांग्रेसका लागि चेतावनी नै थियो । गठबन्धन भत्काएर एक्लै हिँड्न पर्ने ‘कांग्रेसी आवाज’ ले झस्किएका दाहालले यो कांग्रेसी आवाजले कांग्रेसको ‘ओरालो यात्रा’ लाई ‘पक्का-पक्की’ गर्दै थिए ।
भृकुटीमण्डपमा कांग्रेसलाई ‘एकल यात्रा’ को खतरा सुनाएका दाहाल उनको आफ्नै चुनावी जिल्ला चितवनबाट झस्किसकेका थिए । कारण उनको चुनावी जिल्ला चितवन कांग्रेसले २०७४ को स्थानीय तहको चुनावको परिघटना आगामी चुनावमा रहनै नसक्ने गरि अडान लिइसकेको छ ।
झण्डै दुई महिनाअघि कांग्रेसले आयोजना गरेको सभामा कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले निवर्तमान महामन्त्री डा.शशांक कोइरालालाई चेतावनी दिँदै भनेका थिए ‘रुख बाहेक अन्त भोट हाल्न नलगाईयोस्, अब चितवनका कांग्रेसीहरुले रुखमा बाहेक अन्यत्र भोट हाल्ने छैनन् ।’
चितवन जिल्ला सभापतिको यो चेतावनीको सन्देशले काठमाडौंमा रहेका दाहाललाई बेस्सरी झस्कायो । त्यसको केही समयपछि चितवन पुगेका दाहालले उनै श्रेष्ठको भनाई उदृत गर्दै सचेत गराए ‘केही साथीहरुले एक्लै हिँड्ने कुरा गर्नुभएछ , यो अडानले कसैलाई फाईदा गर्दैन ।’ फलतः वर्तमान सरकार गठनका क्रममा बनेको सत्ता गठबन्धनलाई भत्काइन हुन्न भन्नेमा दाहाल छन् । कारण : गठबन्धन नबचे आफ्नो र आफ्नो दल माओवादीको राजनीतिक ‘हैसीयत’ के हुने भन्ने पिरलोले दाहाललाई सताइरहेकाे छ । यसर्थ नेपाली राजनीतिमा ‘ढकमक्क’ फूलिरहेका ‘पुष्पकमल’ राजनीतिक रुपमा ‘ओइलिने’ खतरा देखि डराइ रहेका छन् ।
आफू ‘केन्द्र’ मा रहेर सिंगो नेपाली राजनीतिको बिरासत कायम गर्न खोज्छन् दाहाल । आफू सत्तामा हुँदा वा नहुँदापनि दाहाल सत्ता सञ्चालनको ‘मसिहा’ बन्न खोजिरहे । त्यसोत, कांग्रेसका तत्कालीन सभापति गिरीजा प्रसाद कोइराला नेपालको राजनीति ‘ह्याण्डल’ गर्न आफूलाई थमाइदिएर ‘परलोक’ भएको ‘कथा’ सुनाउँदै आएका दाहाल गिरीजा पछिको बिरासत धान्ने नेता आफूलाई उद्घोष गर्नुले पनि उनलाई कसै न कसै गरि नेपाली राजनीतिको ‘मियो’ बन्न खोजिरहने पात्रका रुपमा अथ्र्याउन गाह्रो पर्दैन ।
एमालेसँगको एकता पश्चात संसदको झण्डै दुई तिहाई बहुमतको ‘हिस्सेदार’ बनेका दाहाल त्यो बेला पनि ‘नेकपा’ मा समाहित भएर नेपाली राजनीतिमा उसैगरि ‘हिरो’ बनिरहेकै थिए । तर तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका सामू उनको ‘हिरोपन्थी’ टिक्न पाएन ।
नेपाली राजनीतिका ‘चतुर खेलाडी’ ओलीको ‘चतुर राजनीति’ का सामु दाहाल डगमगाए । तर सदैव नेपाली राजनीतिको निर्णायक शक्ति बन्ने चेष्टा बोक्ने दाहाल ओलीका सामु किमार्थ ‘निरिह’ बन्न चाहेनन् , फलतः ओली - दाहालको भिषण टकरावका कारण सर्वोच्चको ‘बहस कक्ष’ मा पुगेको नेकपा खारेज भयो ।
नेकपा खारेजीको प्रमुख कारक केपी ओली मानिए । झण्डै दुई तिहाई बहुमतको ‘एक हिस्सा’ बनेका दाहाल गत प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित तेस्रो शक्तिको ‘सानो झुण्ड’ मओवादीको प्रमाणपत्र बोकेर राजनीतिक मैदानमा फिर्ता हुनु दाहालका लागि बाध्यकारी बनिदियो । ‘ओली ईख’ चकनाचुर पार्न ओलीको ‘सत्ता बहिर्गमन’ निर्विकल्प बाटो देखेका दाहाल कांग्रेससंग ‘काँध’ जोड्न गईपुगे ।
ओली देखि रुष्ट माधव कुमार नेपाल, झलनाख खनाल सहित बाबुराम भट्टराई,उपेन्द्र यादवहरुको शक्ति समेत बोकेर कांग्रेससँग सत्ता ‘साँठगाँठ’ को कागज बोकेर बुढानिलकण्ठ पुगेका दाहालले सत्तामाथिको ‘ओली राज’ भत्काई छोडे । कांग्रेस सभापति शेरबरहादुर देउवालाई प्रधानमन्त्रीमा ‘बिराजमान’ गराएर सत्ता गठबन्धनलाई आगामी चुनाव सम्म कायम राख्नु पर्ने ‘मक्सद’ मा रहेका दाहाल आफूलाई पुनः राजनीतिको शक्ति केन्द्रमा राख्न खोजिरहेका छन् । त्यसो त, ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाएको ‘जस’ पनि उनै दाहालले नै लिईरहेका छन् । अनि त, कांग्रेसलाई ‘ओरालो यात्रा’ को चेतावनी खुलेआम दिईरहेका छन् ।
कांग्रेसले गठबन्धन कायम नराखे आगामी चुनावमा ‘अनपेक्षित’ मत सहित ‘सानो दल’को नेता बनेर खुम्चनु पर्ने त्रासदीले सताईएका छन् दाहाल । फलतः कांग्रेस सहितका दलहरुसंगको सहकार्यबाट आफूलाई नेपाली राजनीतिको केन्द्रमा राख्ने भरपुर प्रयासमा छन् उनी । त्यसोत, अहिलेका उनका प्रमुख ‘राजनीतिक दुश्मन’ केपी ओली आगामी निर्वाचनबाट नेपाली राजनीतिको शक्ति केन्द्र बनेको खण्डामा दाहालका लागि सबै भन्दा ठूलो हार हुनेछ । यसर्थ ओलीलाई पुनः शक्ति केन्द्रमा आउन नदिनका लागि दाहाल गठबन्धन कायम हुनै पर्ने ‘रोइलो’ गरिरहेका मात्रै छैनन्, कांग्रेसलाई ‘समाप्ती’ को त्रास दिईरहेका छन् ।
त्यसोत, शेरबहादुर देउवा कांग्रेस सभापतिमा पुनः दोहोरिएपछि विकसित राजनीति दाहालका लागि झन् टाउको दुखाई बन्दै गईरहेको छ । एमसीसी प्रकरणले हल्लाएको नेपाली राजनीतिमा देखिएको ‘ट्विस्ट’ ले सत्ता गठबन्धनको आयु छोटो ‘भविष्यवाणी’ गरिदिएको छ । एमसीसी पास गर्न हुन्न भन्ने दाहाललाई माधव कुमार नेपाल, बाबुराम भट्राईले साथ दिएको भएपनि कांग्रेस ‘दाहाल इतर’ बन्ने सम्भावना अधिक चुलिएको छ ।
देउवाका पृयपात्र गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी पास हुने भनेर दिएको अभिव्यक्तिले पनि कांग्रेसको एमसीसीकाे बाटो ‘क्लियर’ भैसकेको अनुमान सहजै गर्न सकिन्छ । त्यसो त, सत्ता गठबन्ध तोड्न मरिहत्ते गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस ‘समथर्क’ बन्नुले पनि दाहाल इतरको राजनीतिक समिकरणको उदय हुने सम्भावनाको ‘लख’ काट्न गाह्रो पर्दैन ।
कांग्रेसको एमसिसि बाटोमा सहज बनिदिनका लागि ओलीले वर्तमान सत्तागठबन्धन भंगको बाटोलाई प्रमुख सर्त बनाएका छन् । अनि निर्वाचनमा जानु पर्ने अर्को सर्तमा रहेका ओलीको सर्तलाई मानेर कांग्रेसले एमसीसीलाई अनुमोदन गर्ने निर्णयमा पुग्यो भने वर्तमान गठबन्धन तोडिने मात्रै हैन, यसको प्रत्यक्ष राजनीतिक असर आफूहरुलाई पर्ने खतरामा दाहालहरु स्वाभाविकै हुनेछन् ।
डिबि रावत
