- देवेन्द्र बस्नेत/तेस्रो आँखा
काठमाडौं, १६ पुस । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी राजनीतिमा जहिल्यै आफूलाई केन्द्रमा राखे । यात आफ्ना गुटकालाई मात्रै स्थान दिन चाहे । उनीमाथिको यो आरोप उनको अघिल्लो सभापतित्वकालको हो । व्यक्तिवादी र गुटगत राजनीतिलाई ‘सर्वोपरी’ ठानेर कांग्रेसलाई आफ्नो मात्रै एकल ‘बलबुता’ को केन्द्र बनाउन खोजेका देउवालाई कांग्रेसको जनमतले फेरी सभापतिमा दोहोर्याईदियो । देउवाको यो सभापतित्वकालमा भने उनी माथि लागेको यो ‘दाग’ देउवा आफैले मेटाउने प्रयत्न गर्लान् भन्ने अधिक लख काटियो, काटिईरहेकै छ ।
तथापी देउवालाई अहिले केन्द्रीय समितिमा प्राप्त दुई तिहाईको शक्तिले झनै ‘मत्ताईदिने’ होकि भन्ने शंका पनि नभएको हैन । त्यसोत, सभापतिको प्रमाण हात पारेलगत्तैको यो अवधिमा उनले देखाएको ‘बरियता’ क्रमले देउवा फेरी पुरानै बाटोमा हिँड्न थालेको उच्च संकेत गरिसकेको छ । सुरुवाती चरणमा उनले देखाएको यो ‘एकल’ शैलीले देउवालाई पुनः कांग्रेस भित्रका ‘गुटका राजा’ को ‘श्रीपेच’ पहिराईदिने निश्चितता देखाउन थालिसकेको छ ।
डा.शेखर कोइराला यसअघिका केन्द्रीय सदस्य हुन् । देउवा इतर समूहको ‘बागडोर’ सम्हालेका मध्यका एक नेता कोइराला देउवा सँग सभापतिमा भिड्नु देउवाका लागि ‘दुश्मनी’ साँध्न गरिएको प्रयास लागेको भएपनि कांग्रेसमा उठेको पुस्तान्तरणको मागलाई कोइरालाले आफ्नो उम्मेदवारीबाट प्रष्फूटन पारिदिएका थिए । फेरी एकजना केन्द्रीय सदस्य आफूसँग भिड्नुलाई दुश्मनी ठानेका हुन् भने कांग्रेसीहरुले भनेजस्तै व्यक्तिवादी राजनीतिका ‘मसिहा’ देउवा ‘कांग्रेस सिद्धान्त’ लाई नासेर कांग्रेसभित्र ‘देउवा सिद्धान्त’ प्रतिपादन गर्न खोजेको भन्न सहजै सकिएला ।
आफूसंग प्रतिष्पर्धा गरेकै कारण डा. शेखरलाई देउवाले ‘नेता’ को हैसियतमा राख्ने चेष्टा सम्म गरेनन् । अहिलेको केन्द्रीय समितिको २० औँ बरियतामा थन्क्याएर कोइरालालाई देउवाले अति कमजोर सावित गर्न खोजिदिएका छन् । यहाँ सम्मकी राप्रपाबाट कांग्रेस भित्रिएका सुनिलबहादुर थापालाई कोइराला भन्दा कांग्रेसको ठूलो नेता देख्ने देउवा ‘दृष्टिभ्रम’ ले पनि देउवाको ‘कांग्रेस बनाउने’ नियतलाई फेरी प्रष्ट पारिदिएको छ ।
आफ्नालाई काखी च्यापेर पार्टी ‘हल्लाउन’ खप्पिस देउवाले फेरी पनि आयातित सुनिलहरुलाई कांग्रेसका ‘हिरा’ बनाएर छोडिदिए,तर कांग्रेसका ‘हिरा’ कोइरालालाई ‘कोइला’ सम्झिए, असली हिराहरुलाई चिन्न सकेनन् । रामचन्द्र पौडेल महाधिवेशनमा तटस्थ बनेर मत हाल्नै गएनन् । अनि डा. शशांक कोइरालाले डा. शेखरलाई सहयोग नगरेको बुझिसकेको संस्थापन इतर समुहको नेताका रुपमा डा. शेखर देशब्यापी रुपमा चिनिईसकेका छन् । संस्थापन ईतर समुहको नेतृत्व अव डा. शेखर कोइरालामा गयो भनेर कार्यकर्ता पंक्तीबाट बोलिईरहेको आवाज बालुवाटारका देउवाले शायद सुनेका छैनन् । अनि त हैसियत मेटाउने प्यत्न स्वरुप कोइरालालाई २० औँ नम्बरको बरियता कायम गरिदिए ।
यहाँनेर एउटा प्रश्न देउवा माथि सहजै गर्न सकिन्छ कि पहिलो चरणको निर्वाचनमा ५० प्रतिसत मत नकटेपछि दोस्रो चरणको चुनावको संघारमा एकाबिहानै प्रकाशमान, बिमलेन्द्रहरुको दैलो चहार्नुको कारण के थियो ? डा. शेखर कांग्रेसको कुनै शक्ति नै थिएनन् भने एकाबिहानै भोट खोज्न नेताहरुको दैलो चहार्नु पर्ने आवश्यक्ता पक्कै पनि देउवालाई पर्ने थिएन । त्यो बेला आफ्ना कट्टर प्रतिस्पर्धी सोचेका देउवाले अहिले उनै कोइरालालाई अति ‘जुनियर कायकर्ता’ कसरी मान्न सके ? यदी बिमलेन्द्र र प्रकाशमानले चुनाव अघि गरेको पुस्तान्तरणको बाचा पुरा गरेको भए मात्रै आफ्नो ‘पासा’ पल्टिन सक्ने खतरालाई देउवाले कसरी बिर्सेका होलान् ?
डा. शेखरले चुनाव हारे । तर ४० प्रतिसत मत प्राप्त गरे । शायद देउवा यो ४० प्रतिसतमा कायम भएको भए उनले सिधै भन्ने थिए ‘मेरो ४० प्रतिसत खै ?’ फेरी कांग्रेसमा चलेको ६०÷४० प्रतिसत भागवण्डाको सुरुवात गर्ने ‘भागवण्डाका संस्थापक’ उनै देउवा नै हुन् । सुशील कोइरालासंग सभापतिमा पराजित भएपछि देउवाले नै सुशील कोइरालासँग ४० प्रतिसतको भाग खोज्न थालेपछि ६०/४० को भागमा कांग्रेसीहरु ‘बण्डा’ हुन थालेका हुन् । तर उनै देउवासँगै हारेका डा. शेखरले भने आफूले ४० प्रतिसत भाग नखोज्ने बताईसकेका छन् ।
यसर्थ पनि आफ्ना लागि कोइराला खेमा सहज छ भन्ने सन्देशका रुपमा देउवाले बुझ्न सक्नु पथ्र्यो । तर, यही भनाईलाई कमजोरी मुल्यांकन गरेर देउवाले डा. शेखरलाई झनै कमजोर आँकेकै हुन् भने देउवाले कोइरालालाई चिढ्याएकै हुन् वा उनलाई ‘जोरी खोज्न’ चुनौती दिएका हुन् भन्नेमा सन्देह छैन । यसर्थ पनि कांग्रेसमा हुर्किइरहेको आन्तरिक बिभाजनको ‘रुख’ लाई देउवाले थप मलजल गर्न खोजिरहेका छन् भन्ने पुष्ट्याईँ खोज्न कोइराला माथि उनले गरेको ब्यवहार काफी देखिन्छ । भलै अघिल्लो कार्यकालमै कांग्रेसलाई बेवास्ता गरेका कांग्रेस सभापतिको यो ब्यवहार देखि डा. शेखर आत्तिएका छैनन् , नत रिसाएकै छन् । उसैगरी शालिनता प्रस्तुत गरिरहेका छन् ‘मैले पाएको मत नै मेरो बरियता हो ।’
सभापति देउवा आफ्नो लागि मात्रै सभापति हैनन् । नत आफ्नो गुटको मात्रै । प्रमाणपत्र वितरण कार्यक्रममा उनले बोलेको जस्तै देउवा सबै कांग्रेसीहरुको साझा सभापति हुन् । तर बोली र ब्यवहारमा एकरुपता किन देखाउन छोड्न थाले देउवाले ? भन्ने प्रश्नले कांग्रेसको आगामी बाटो माथि बिभिन्न खाले ‘उत्तर’ हरु उब्जाउन थालेको छ । डा.शेखर कोइराला जस्ता नेतालाई सुनिलबहादुर थापा भन्दा पराइको ‘कार्यकर्ता’ देख्ने देउवा शैलीले पक्कै पनि उनी यो सभापतित्वकालमा पनि सुध्रिनेमा धेरै आशंका उब्जाएको छ । अतः देउवाको यो ‘बडामहाराज’ शैलीलाई उनका बौद्धिक ‘सेना’ हरुले लगाम लगाउन सक्नु पर्छ - सशक्त/मजवुत कांग्रेसका निम्ती ।
