पर्वत । कास्कीको पोखरा महानगरपालिका–२७ डाँडाको नाकमा शनिवार भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने थप दुईजना घाइते भएका छन्।
जिल्ला प्रहरी कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार शनिवार बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ८३५६ नम्बरको बसको ब्रेक फेल भई सडकको दायाँ भागमा रहेको माटोको ढिस्कोमा ठोक्किएको थियो।
सवारी दुर्घटना भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिशुवा डाँडाको नाकबाट प्रहरी टोली खटिने क्रममा बसले भारत घर भई हाल पोखरा-२७ स्थित लेखनाथ महोत्सवमा गमला बिक्री गर्न आएकी ३० वर्षीया इस्श्रावती कुमारीलाई ठक्कर दिएको पाइएको थियो।
उनलाई तत्कालै उद्धार गरी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो। बसमा सवार २० जनामध्ये तीनजना घाइते भएका छन् भने अन्य यात्रुको अवस्था सामान्य रहेको छ।
घाइते भएकाहरूमा तनहुँको म्याग्दे गाउँपालिका–८ घर भएका ३६ वर्षीय रामजी गन्धर्व र उनकी श्रीमती ३० वर्षीया विष्णु गायक र पर्साको दीप नगरपालिका–१ बस्ने वर्ष ४६ वर्षीया चिजमाया गन्धर्व रहेका छन्। उनीहरूको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ।
