जि. केसी
सुर्खेत, कात्तिक ७ –
३५ बर्षअघिदेखी निर्माण सुरु गरिएको क्षेत्रफलको हिसाबले पश्चिमी पहाडी भेककै ठुलो गिताचौर–रावतकोट सिंचाई आयोजना निर्माण सम्पन्न नहुँदै जिर्ण भएको छ । सरकारले सिचाई कार्यालय मार्फत कम बजेट पठाउने, उपभोक्ता समितिले श्रमदान नगर्ने, र ठेकेदारले काम नसक्ने कारणले पुरानो योजना लथालिङ्ग अवस्थामा पुगेको हो ।
निर्माण कम्पनी स्वच्छन्द÷प्रदीप जेवी सुर्खेतले काम गर्दागदै भागेपछि दैलेखको महत्वकांक्षी सिचाई योजना अलपत्र परेको हो ।
सिचाई योजना १४.२ किलोमिटर लम्वाई रहेको छ । ६ करोड ३१ लाख लागतमा बनाउन लागिएको सिचाई योजनामा अहिलेसम्म झण्डै ५ करोड रकम खर्च भईसकेको खानेपानी, सिँचाई तथा उर्जा विकास कार्यालय दैलेखले जनाएको छ । १४ किलोमिटर लम्बाईमा अहिलेसम्म ४ किलोमिटर मात्र पानी चल्ने गरि निर्माण भएको छ । बाँकी १० किलोमिटर कहिले चल्ने हो ठेगान छैन । वर्षेनी थोरैथोरै बजेट विनियोजन हुुनुले पनि यहाँका किसानहरु ३३ वर्षदेखी सिंचाईको सपना बुनिरहेका हुन् ।
दैलेखका महावु र भैरवी गाउँपालिकाका रावतकोट, वडलम्जी, भैरीकालिकाथुम, बाँसी र रानीवन गाउँका किसानहरुको २ सय ३५ हेक्टर खेतीयोग्य जमिनलाई सिंचाई सुविधा पु¥याउने उद्देश्यले २०४३ सालदेखि यसको निर्माण थालिएको हो । २०२२ सालबाट सुरु गरि १८ वर्ष लामो विस्तृत सर्वेक्षण पश्चात आयोजनाको निर्माण कार्य २०४३ सालबाट सुरु गरिएको थियो ।
निर्माण सम्बद्ध पक्षले सिंचाईका लागि पर्याप्त पानी नभएको, उपभोक्ताको असहयोग, माओवादी द्धन्द्धको कारण जनाउ“दै बिच बिचमा आयोजनाको निर्माण कार्य रोकेको थियो । सुरुका वर्षमा पानीको स्रोत नपुग्ने भन्दै सिंचाई कार्यालयले सवा दुई करोडको काम बिचैमा रद्द गरेको थियो । कामै सम्पन्न नगरि बजेट सिध्याउनलाई उपभोक्ता समिति र ठेकेदारहरुले उपभोक्ताले सहयोग नगरेको कारण देखाएपछि करिव ६ वर्ष काम रोकिएको स्थानिय बताउँछन् ।
तत्कालिन सिंचाई कार्यालयले २०४७ सालमा पुनःटेण्डर आव्हान गरि काम सुचारु गर्न निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । यस अवधिमा कार्यालयका प्राविधिक र निर्माणकर्ता बिचको मिलेमतो कारण आधा काम गरी सम्पन्न भएको फरफारक गरि प्रतिवेदन बुझाँउने गरेको रावतकोटका स्थानीयहरुको गुनासो छ । आयोजनाको प्रारम्भिक चरणमा कामै नगरि २०४९ देखि २०५६ सालसम्म २ करोड ९७ लाख खर्च भैसकेको जनाईएको छ ।
आयोजनाप्रति समुदायको अपनत्व बढाउने नीतिअनुसार स्थानीयले शेयर लगानी गर्नुपर्ने कार्यालयले प्रस्ताव गरेपछि २०५५ सालमा रावतकोटका बासिन्दाले एक लाख धरौटी राखे तर सिंचाई कुलो बनेको यस चरणमा पनि देख्न पाएनन् ।
‘खेतमा अव सिचाई सुविधा होला भनेर घरका गहरगहना, पशुचौपाया बेचेर शेयर लगानी ग¥यौं’ तत्किालिन उपभोक्ता समितिका अध्यक्ष तिलकप्रसाद रिजालले भने, ‘२ वर्षमा सक्नुपर्ने योजना बर्षै बितिसक्यो अझै पुरा भएको छैन् । योजनालाई सवैले दुहुनो गाई जस्तै बनाए ।’
आयोजनाको बेलीबिस्तार सुनाउ“दै उनले भने ‘असफल योजना भनेर विभागमा फाईल थन्किएकोे थियो ।’ आम उपभोक्ताको दबाबमा फेरी टेण्डर आव्हान भएको हो । योजना सम्पन्न हुनुपर्ने उपभोक्ताको चर्को आवाज उठेपछि २०५६ सालमा तत्कालिन जिविस बोर्डले १५ दिन श्रमशिविर चलाएको थियो । तर, त्यसयता उपभोक्ताबाट श्रमदान कम भएकाले योजना ढिलासुस्ती हुनुको कारण भएको जानकारहरु बताउँछन् । तत्कालिन जिविस सभापती सहितका पदाधिकारीहरुले आयोजना स्थलमै आएर एक दिन श्रम गरेका थिए । त्यसलगत्तै माओवादी द्धन्द्धको कारणले काम रोकिएको थियो । निर्माण कम्पनीले सन्तोषजनक काम नगरेको उपभोक्ताहरुले आरोप लगाएका छन् ।
बर्सेनी झिनो बजेट
३५ वर्षदेखी निर्माण थालिएको बहुचर्चित १४.२ किलोमिटर गिताचौर रावतकोट सिचाई आयोजना अहिलेसम्म सम्पन्न हुन सकेको छैन । सरकारले बजेट विनियोजनमा प्राथमिकतामा नराखेकाले यो आयोजना सम्पन्न हुन नसकेको हो । महत्वकाँक्षी बहुचर्चित गिताचौर रावतकोट आयोजना बजेट नहुँदा अन्यौलमा रहेको छ । वर्षेनी ३ लाख देखी १० लाख आयोजनामा खर्च आउन थालेपछि आयोजनाको विजोग भएको हो । झिनो रकम उपभोक्ता समिति मार्फत माटो खनेर सकिने गरेको छ । हरेक वर्ष बजेट न्यून आउन थालेपछि बहुचर्चित आयोजनाको काम हुन नसकेको हो ।
‘हरेक वर्ष झिनो बजेट पठाउने कारण प्रगती शून्य देखिएको हो,’ खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय दैलेखका प्रमुख अशोक गौतमले भने । ठुलो आयोजनामा सानो बजेटले काम गराउन कठिन हुने भएकाले परिणाममुखी बजेट नआउँदासम्म साना बजेट कार्यान्वयन गर्न कठिन हुने कार्यालयले जनाएको छ ।
