धनगढी १७ पुस/ कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै आगामी माघ १ गतेदेखि नगर क्षेत्रमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो।
मंगलबार धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दै माघ १ गतेदेखि नगर क्षेत्रमा सूर्ति तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका हुन्।
सूचनामा भनिएको छ, ‘धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) ‘सूर्ति तथा मदिराजन्य पदार्थ बिकी वितरणको लागि उप–महानगरपालिकाबाट छुट्टै अनुमति लिनु पर्ने’ र सोही ऐनको दफा ३० (२) ‘खाद्य पदार्थ बिकी गर्ने पसलमा सूर्ति तथा मदिराजन्य पदार्थ बिकी वितरण गर्न बन्देज लगाइनेछ।’ सूचनामा माघ १ गतेदेखि चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्का, सुर्ती वा यस्तै प्रकारका अन्य सूर्तिजन्य पदार्थ बिकी वितरण नगर्न नगराउन भनि उल्लेख गरिएको छ।
