- तेस्रो आँखा
काठमाडौं २१, पुस । कांग्रेसको आन्तरिक व्यवस्थापन सहज नभए कांग्रेसको आगामी यात्रा के हुने भन्ने चिन्तन राखेँ । शेरबहादुर देउवा दोस्रो कार्यकाल सभापतिमा निर्वाचित भएपछि कांग्रेसबाट भएका ‘कदम’ हरु मलाई एकपक्षीय लाग्यो । कांग्रेसको एक शुभचिन्तक मैले गलत विश्लेषण पक्कै गरेन भन्नेमा 'म ढुक्क छु ।'
सभापति ज्यू। तपाईको पहिलो कार्यकालमा कार्यकर्ता पंक्तीबाट असन्तुष्टि मात्रै हैन, तपाईमाथि वर्षाइएका ‘तुच्छ’ गालीहरुले मलाई दुखाउँथ्यो। तपाईमा पार्टी भन्दा ‘सत्ताभोग’ जागेको भनेर गाउँका कार्यकर्ताहरु ‘कुर्लिँदा’ तपाईले आफूलाई ‘करेक्सन’ गरिदिए हुन्थ्यो भन्ने अपेक्षा एक ‘मामुली’ शुभचिन्तकका नाताले गरिरहेँ । तपाईको पहिलो कार्यकालको ‘हिसाबकिताव’ गरेका कांग्रेस कार्यकर्ताहलाई तपाईले त्यो बेला आफूलाई ‘साझा सभापति’ का रुपमा उभ्याउन सक्नु भयो भएन, तपाईले मुल्यांकन गरिरहनु भएकै होला, यात ति कार्यकर्ताहरुले गरिरहेकै होलान् ।
खैर ! पहिलो कार्यकालको हिसाबकिताव छोडौँ । दोस्रो कार्यकालका लागि पुनः पार्टी नेतृत्व हाँक्ने तपाईको अग्रसरताले कांग्रेसमा उठेको पुस्तान्तरणको बहसलाई ध्वस्त पार्न खोजिरहेकै थियो । यसमा मेरो केही फरक मत पनि छ, कि पुस्तान्तरण भए मात्रै ‘कांग्रेस बन्छ’ भन्ने आवाजलाई म त्यति ‘बुलन्द’ मान्दैन पनि ।
पहिलो पुस्ताले कांग्रेसलाई ‘सिध्याउँछ’ मात्रै भन्ने चिन्तन र सोँच पनि सही हैन । सबै भन्दा ठूलो कुरा त, ईच्छा शक्ति हो । तपाई पुनः सभापतिमा दोहोरिनका लागि उम्मेवारी दर्ता गर्दा र तपाईको भृकुटीमण्डप ‘मेस’ को भोजनले पनि तपाईमा त्यो ईच्छा शक्ति उर्लिएरै आएको महसुस मैले गरेकै हो ।
अँझ, सभापतिको प्रमाण ग्रहण गर्दा तपाईले बोलेको एक ‘बचन’ ले तपाईको पहिलो कार्यकालका ‘तुष’ हरु सबै मेटाईदिने आश देखेँ । तपाईले भन्नु भएको थियो नि ‘म सबै कांग्रेसीको साझा सभापति हो ।’ आहा ! कांग्रेस महाधिवेशनमा तपाईलाई भोट नहाल्ने कांग्रेसीहरुले पनि शायद तपाईको यो वचनको खुलेरै तारिफ गरेको हुनुपर्छ ।
तर सभापति ज्यू, तपाईको बचन सेलाउन नपाउँदै तपाईले तोकेको नेताहरुको बरियता क्रमले त तपाईकै बचनलाई गिज्याईदियो । तपाईसँग पराजय व्यहोरेका शेखर कोइरालालाई २० औँ नम्बरको बरियतामा राखिदिएपछि तपाई फेरी ‘एकपक्षीय’ ढंगबाट अगाडी बढ्न खोजेको भनेर बोलिएका आवाजहरु सुन्नु भएकै होला ।
मलाई जान्न मन लागेको सभपति ज्यू , शेखर कोइराला कसरी २० औँ नम्बरमा पर्नु भयो ? शेखर कोइराला २० मा किन पर्न नहुने ? यो पनि प्रश्न जायज हो । तर २० नम्बरको आधार केहि त पक्कै हुनुपर्छ । सभापति ज्यू, यो एक मामुली शुभचिन्तकको प्रश्न मात्रै हैन, तपाईका आम कार्यकर्ताहरुले २० नम्बरको आधार के ? भनेर सोधिएको प्रश्नको प्रतिनिधिका रुपमा मात्रै मेरो प्रश्न हो । यो जवाफ मैले कुनै पनि नेता वा कार्यकर्ताबाट नपाउँदासम्म मैले तपाईलाई ‘एकपक्षीय’ बनेको भनेर महसुुस गरिरहनेछु ।
सभापति ज्यू, तपाईसँग सभापतिमा भिडेका डा.शेखर कोइरालाले भनेका थिए ‘मलाई ४० प्रतिशत चाहिन्न, त्यो भाग खोज्दैन ।’ तपाईले भनेजस्तै साझा सभापति बन्नका लागि सहज बाटो हैन र यो ? तर उनै शेखरले बुधबार तपाईको क्रियाकलापप्रति असन्तुष्टि जनाए । आफू पक्षीय नेताहरुको बैठक डाकेर शेखरले भनेका छन् ‘तपाईले गरेको केन्द्रीय सदस्य मनोनयनको मापदण्ड के हो ?’ सही प्रश्न, हो नि मापदण्ड के हो ?
सभापति ज्यू, महाधिवेशनमा महामन्त्री पदमा हारेपछि डा.मिनेन्द्र रिजालले रक्षा मन्त्री पदबाट राजीनामा दिए । पार्टीको निर्वाचन हारेपछि नैतिकताका आधारमा राजीनामा दिएका रिजाल कांग्रेसको सकृय राजनीतिमा रहने वा नरहने भन्नेमा अनिर्णित छन् । मन्त्रीबाट राजीनामा दिँदा कांग्रेसको सकृय राजनीतिबाट बाहिरिने आशय राखेका रिजाललाई कांग्रेसको राजनीतिमा सक्रिय बनाईराख्नु पर्ने हैन ? कि कांग्रेसमा डा.मिनेन्द्र नभए नि हुन्छ ?
तपाईले पराजित अन्य नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभयो । तर महामन्त्रीमा हारेका मिनेन्द्र तपाईको मनोनयन सुचीमा किन परेनन् ? सक्रिय राजनीतिबाट बाहिरिने संकेत गरिसकेका कांग्रेसका आदर्श बोकेका नेता डा. मिनेन्द्रलाई फकाएर सक्रिय राजनीतिमा कायम राख्नु पर्दैन र ? फेरी पनि यही प्रश्न गर्छु ‘डा. मिनेन्द्र कांग्रेसका लागि चाहिन्नन् ?’ कि तपाईको मापदण्डभित्र मिनेन्द्र परेनन् ? परेनन् भने कसरी परेनन् ? मामुली शुभेच्छुकको प्रश्न ।
महामन्त्रीमै हारेका प्रदीप पौडेल , प्रकाशशरण महतलाई केन्द्रीय सदस्य बनाउने तपाईको मापदण्ड भन्दा रिजाल बाहिर हुनुमा यात मापदण्डमा खोट छ, यात तपाईमै ।
उपसभापतिमा हारेका चन्द्र भण्डारीलाई पनि मनोनयनको मापदण्ड भन्दा बाहिर राख्दा पनि ‘एकपक्षीय नियत’ को सन्देश बाहिर गयो नि सभापति ज्यू । तपाईका निकटस्थ विजय कुमार गच्छदार र सुजाता कोइराला उपसभापतिमा हारे पनि केन्द्रीय सदस्य मनोनित भैहाल्ने , तर उही पदमा अर्का पराजित भण्डारी भने मनोनयनको दायरामा नपर्नुलाई म मामुली शुभेच्छुकले के बुझौँ ?
सभापति ज्यू , तपाई मुलुकको प्रधानमन्त्री पनि ! मैले हुलाकमार्फत यो पत्र पठाएको भए बालुवाटारमा तपाईको हात पर्ने थियो वा थिएन । फलतः मैले मिडियाको माध्यमबाट तपाईलाई पत्र लेख्ने निर्णय गरेको हुँ ।
धन्यवाद ।
पूर्ण कार्की
दाङ
पूर्ण कार्की
