• ट्रेण्डिङ्ग :
दर्ता भए युवा उद्यमीलाई ४० प्रतिशत छुट दिने काठमाडौँ महानगरको तयारी

दर्ता भए युवा उद्यमीलाई ४० प्रतिशत छुट दिने काठमाडौँ महानगरको तयारी


  • 2.5K
    SHARES
    • पौष २९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 3.9K Views

    दर्ता भए युवा उद्यमीलाई ४० प्रतिशत छुट दिने काठमाडौँ महानगरको तयारी

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ५ लाख रुपैयाँसम्मको लगानी भएका तर करको दायरामा नआएका युवा उद्यमीलाई २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने प्रस्ताव ल्याएको छ।

    images

    काठमाडौँ महानगरपालिका नगर सभाको १४ औं अधिवेशनमा महानगरपालिकाको चालु आव ०८०/८१ को कार्यक्रम बजेटमा प्रस्तावित संशोधनमा सो प्रस्ताव ल्याएको महानगरकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन्।

    महानगरले चालु आवको कार्यक्रम बजेटमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख रुपैयाँ घटाउने प्रस्ताव गरेको छ।

    सोही बराबरको रकम पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा थप्ने प्रस्ताव ल्याएको उनले बताइन्। राजश्व प्रशासनलाई थप चुस्त र प्रभावकारी बनाउन जरुरी देखिएको उपप्रमुख डंगोलले बताइन्।

    ‘चालु आवको कार्यक्रम बजेटमा संशोधन प्रस्ताव तयार गर्दा स्वीकृत कुल बजेट रकममा कुनै थपघट नगरी केही क्रियाकलापमा मात्रै संशोधनको प्रस्ताव पेश गरेकी छु‚’ उनले भनिन्, ‘संशोधित प्रस्तावमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च‚ आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख घटेको छ भने पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा सोही बराबरको बजेट थपिएको छ।’

    करको दायरामा नआएका ३५ वर्षभन्दा कम उमेरका युवा उद्यमीहरुको उद्योगले २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने उपप्रमुख डंगोलले बताइन्।

    उनले नियमित कर दाखिला गर्ने करदाताका हकमा कर रकमको २५ प्रतिशत छुट दिने आर्थिक विधेयकमार्फत प्रस्ताव गरेको बताइन्।

    ‘हालको वित्तीय बजार र आर्थिक अवस्थालाई मध्यनजर गरी करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपांगता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाको नाममा दर्ता भइ सञ्चालनमा रहेका ५ लाखसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी, संस्थाहरुले २०८१ असार मसान्तसम्म कर दाखिला गरे जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने कर दाताका हकमा कर रकमको २५ प्रतिशत छुट दिने आर्थिक विधेयकमार्फत प्रस्ताव गरेकी छु‚’ उनले भनिन्।

    महानगरपालिकाले चालु आव ०८०/८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा रहेको र सञ्चित कोषबाट हुने आय तथा व्ययमध्ये कुल विनियोजित रकम २४ अर्ब ४ करोड ५४ लाख १ हजारमा चालु आवको पुस २६ गतेसम्म ४ अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैयाँ खर्च भएको बताएको छ।

    उपप्रमुख डंगोलले हालसम्म पूर्वाधार विकासमा ११.६४ प्रतिशत, आर्थिक विकासमा १३.३४ प्रतिशत, सामाजिक विकासमा १८.७९ प्रतिशत खर्च भएको बताइन्।

    उनले सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १०.८४ प्रतिशत खर्च भएको र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने ३६.४७ प्रतिशत खर्च भएको बताइन्।

    राजश्व आम्दानीतर्फ चालु आवमा १० अर्ब ८० करोड ७८ लाख २० हजार रुपैयाँको लक्ष्य निर्धारण गरिएकोमा पुस २६ गतेसम्म कुल ४ अर्ब ७६ करोड ३३ लाख १२ हजार ६२४ रुपैयाँ राजश्व संकलन भइसकेको बताइन्।

    आन्तरिक राजश्व असुलीको लक्ष्य ६ अर्ब ३९ करोड २० लाख रुपैयाँ रहेकोमा आन्तरिक आयअन्तर्गत २ अर्ब ८७ करोड ७८ लाख ९८ हजार ८७७ रुपैयाँ राजश्व संकलन भइसकेको बताइन्।

    उनले कुल आम्दानीको लक्ष्यअनुसार प्रगति ४४.०७ रहेको र आन्तरिकतर्फ कुल लक्ष्यको ४५.०२ प्रतिशत प्रगति भएको जानकारी दिइन्।

    उपप्रमुख डंगोलले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले महानगरपालिकाले संशोधन प्रस्ताव गर्नुपरेको स्पष्ट पारिन्।

     

     


    तेस्रो आँखा