• ट्रेण्डिङ्ग :
नियमविपरित निकुञ्‍जबाटै ग्राभेल निकासा, सेटिङमा प्लटिङ

नियमविपरित निकुञ्‍जबाटै ग्राभेल निकासा, सेटिङमा प्लटिङ


  • 4.5K
    SHARES
    • माघ ९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 7.0K Views

    नियमविपरित निकुञ्‍जबाटै ग्राभेल निकासा, सेटिङमा प्लटिङ

    चितवन । मध्यवर्ती क्षेत्रका उपभोक्ता र विकास निमार्णका लागि दिइने सुविधालाई दुरुपयोग गरेर मेघौलीमा घडेरी बनाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका मेघौली उपभोक्ता समूहअन्तरगत सदावहार सामुदायिक वनको घाटबाट राप्ती नदीबाट नदीजन्य पदार्थ उत्खनन् गरेर भरतपुर महानगरपालिका २७ स्थित व्यवसायिक बिक्रीका लागि बनाइएका घडेरी पुरिएका छन् । 

    images

    सार्वजनिक जग्गा हडपेर घडेरी जाने बाटो बनाइएको छ । मेघौली मध्यवर्ती उपभोक्ता समितिको सिफारिको आधारमा चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगतको सदावहार मध्यवर्ती सामुदायिक वनबाट ढुङ्गा ,गिटी , बालुवा निकासी गरेर प्लटिङ गरिएको हो ।

    ‘हाम्रै वनभित्र बाटो बनाउन गिटी माग्दा पाइँदैन । तर, यहाँ निकुञ्जकै अनुमति लिएर व्यक्तिको घडेरी पुरिएको छ। राधाकृष्ण मध्यवर्तीका सदस्य कष्ण बहादुर परियारले भने ,‘यहाँ सेटिङ गरेर ऐलानी जग्गा हडपेर बाटो बनाएर व्यक्तिको घडेरी पुरिएको छ । यसमा हामीले सम्बन्धित निकायको उजुरी गराउँदा पनि वास्ता छैन ।’

    व्यवसायिक बिक्रीका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन ऐनअनुसार मध्यवर्ती उपभोक्ताको घर ,गोठ ,टहरा र विकास निमार्णको काममा दिन सकिने व्यवस्था छ । उक्त सुविधाको दुरुपयोग गरेर उपभोक्ता र स्थानीयले थाहा नपाउने गरी सुटुक्क निकासी गरिएको हो । 

    सेफिना मास्केको नाममा रहेको पचास विगाहा १० धुर जग्गालाई घडेरीस्वरुप ७० वटा कित्ताकाट गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको अनुमति लिएर एक हजार घनमिटर ग्राभेल निकासी गरेर घडेरी पुरिएको हो । नियम मिचेर निकुञ्जबाट ग्राभेल निकासा गरेर दुरुपयोग भएको भन्दै स्थानीयले छानविनको माग गरेका छन् ।

    भूउपयोग ऐन २०७६ विपरित कित्ता काट गरेर घडेरीको कित्ताकाट गरिएको भनी उनीहरुले जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिकामा उजुरी दिएका छन् । सदाबहार वनबाट निकासा भएको ग्राभेल राधाकृष्ण वनको बाटो हुँदै निकासा भएको हो । तर राधाकृष्ण वनका अध्यक्ष वेदनिधि सुवेदी नै बेखबर छन् । ‘हाम्रै वनसँग जोडिएको ऐलानी जग्गा मिचेर बाटो बनाइएको छ । हामीलाई नै थाहै नदिएर निकासा गरिएको छ ,’सुवेदीले भने । 

    होलिडे होम स्टे बनाउने नाममा घडेरी प्लटिङ र प्लटिङमा जाने बाटो बनाइएको छ । बस्ती र बाटो निकासी नभएको घडेरी राधाकृष्ण मध्यवर्ती सामुदायिक वनसँग जोडिएको जग्गालाई हडपेर बाटो समेत निकासी गरिएको छ । राधाकृष्ण वनका निवर्तमान अध्यक्ष डिबी आलेमगरले निकुञ्जको मुख्यालय कसराबाट अनुमति ल्याएर ग्राभेल झिकेको बताए ।

    'विकास निमार्णको नाममा अनुमित देखाएर कानुन मिचेर व्यक्तिको घडेरी प्लटिङ गरेको देखिन्छ ,’उनले भने ,‘अनुमति पत्र हेर्दा कानुन विपरित छ । संरक्षणको नाममा जे पायो त्यही गर्न त पाइएन नि । ’

    चितवन राष्ट्रिय निकुञ्जका मेघौली सेक्टरका रेञ्जर रमेश बस्नेतले घर बनाउने प्रयोजनको लागि ग्राभेल माग भएको कारण निकासा भएको बताए । ‘जग्गा किनेर घर बनाउँछु भनेर माग गरेपछि दिइएको हो , ’ बस्नेतले भने ,‘वडा र मध्यवर्तीले सिफारिस गरेको कारण स्थानीयरुपमा दिइने सुविदा दिइएको हो । ’

    मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले मिलेमतोमा सिफारिस गरेको आरोप लगाएका छन् । महतोले निकुञ्जलाई पत्र लेखेर विकास निमार्णको कारण देखाँउदै नदीजन्य पदार्थ निकासीका लागि सिफारिस गरेका थिए । सोही सिफारिसको आधारमा गत मंसिर २२ गतेदेखि तीनसम्म हजार घनमिटरको ८० टिप ट्याक्टर टिट्टी , बालुवा निकासी गरेर कल्वर्ट र बाटो निमार्ण गरिएको छ । यस विषयमा जिज्ञासा राख्दा मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष महतो आक्रोशित भए । उनले प्रकृया पुर्‍याएर निकासी गरेको भन्दै थप कुरा गर्न मानेनन् । ‘बाटोमा गिट्टी हाल्दा पनि विरोध हुन्छ विकासै नगर्ने त ?’ महतालेले झर्किदै भने ,‘जानुस् कसरा गएर बुझ्नुस । ’

    निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले घटनाबारे अनुसन्धान गर्ने बताए । ‘मध्यवर्ती उपभोक्ता ,वडाको सिफारिस आएपछि नियमानुसार उपभोक्ता र स्थानीय विकास निमार्णको लागि दिइने हो ,’उनले भने ,‘दुरुपयोगको उजुरी परेपछि अनुसनधान गर्दैछौं ।’  


    तेस्रो आँखा