• ट्रेण्डिङ्ग :
गाउँपालिकाका सबै वडाको आफ्नै भवन

गाउँपालिकाका सबै वडाको आफ्नै भवन


  • 4.5K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.0K Views

    गाउँपालिकाका सबै वडाको आफ्नै भवन
    तनहुँ, १२ माघ/तनहुँको आँबुखैरेनी गाउँपालिकाका सबै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएका छन् । चालु आर्थिक वर्षमा दुई वडा कार्यालयको भवन निर्माण सम्पन्न भएसँगै गाउँपालिकाका सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेका छन् ।
     
    चालु आर्थिक वर्षमा वडा नं २ र ६ को कार्यालय भवन निर्माण गरिएको छ । गत आर्थिक वर्षसम्ममा वडा नं १, ४ र ५ को कार्यालय भवन निर्माण भएको थियो । वडा नं ३ भने गाउँपालिकाकै कार्यालयबाट सञ्चालित छ ।
     
    वडा कार्यालयको सेवा सहज र सरलरूपमा प्रवाह गर्ने उद्देश्यसहित वडा भवन बनाउने नीतिबमोजिम सबैको भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “भाडामा घरमा, साँघुरा कोठामा वडा कार्यालय सञ्चालन हुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको थियो । सुविधासम्पन्न भवन निर्माण भएसँगै जनताको काम गर्न सहजता आउनेछ ।”
     
    वडा नं ६ को नवनिर्मित भवनबाट हालै सेवा प्रवाह सुरु गरिएको छ । यसअघि भाडाको घरमा सञ्चालित वडा कार्यालयको भवन निर्माण सम्पन्न गरी सोही भवनबाट सेवा प्रवाह सुरु गरिएको वडाध्यक्ष दिलीप गुरुङले जानकारी दिनुभयो । यसअघि भाडामा लिइएको भवनबाट सेवा प्रवाह गर्दा साँघुरो ठाउँ भएका कारण समस्या हुँदै आएको थियो । उहाँले भन्नुभयो, “सुविधासम्पन्न भवन निर्माणपछि सेवा प्रवाहमा सहजता हुनेछ ।”
     
    एक हजार एक सय १७ वर्गफिट क्षेत्रफलमा फैलिएको दुई तला भवन रु ६३ लाख २० हजार छ सय ७९ मा सम्पन्न भएको हो । रु एक करोड ११ लाख सात हजार दुई सय ९७ अनुमान गरिएको भवन रु ७३ लाख ५४ हजार एक सय ५९ मा विसं २०७८ असोज २४ मा ठेक्का सम्झौता भएको थियो । आव २०७७/७८ को योजनाबमोजिम निर्माण थालिएको भवनको ठेक्का श्री मनकामना गुरुङ निर्माण सेवाले लिएको थियो । 
     
    यसअघि वडा नं १, २, ४ र ५ को भवन निर्माण सम्पन्न भइसकेको छ । वडा नं ३ गाउँपालिकाकै भवनबाट सञ्चालित छ । वडा नं २ को भवन पनि हालसालै सम्पन्न भएको हो । वडा नं २ को भवन रु एक करोड ९७ लाख ५७ हजार लागत अनुमान रहेकामा रु एक करोड २२ लाख ६४ हजारमा ठेक्का सम्झौता भएको थियो । गाउँपालिकाले उक्त भवन निर्माण गरेबापत निर्माण कम्पनीलाई रु एक करोड १० लाख भुक्तानी गरेको थियो । 


    तेस्रो आँखा