आलोक भावुक
गढवा । दाङ देउखुरीको गढवा गाउँपालिकाको गाउँसभाको १४औं अधिवेशन शुरु भएको छ । आइतबारदेखि गाउँपालिकाको सभाहलमा १४औं अधिवेशनको पहिलो बैठक सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनुभयो ।
गढवा गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अधिवेशन शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । गाउँसभाको पहिलो बैठकमा विधेयक समितिका संयोजक लेखबहादुर थापाले दुईवटा विधेयक प्रस्तुत गर्नुभएको थियो । आर्थिकरुपले विपन्न, सिमान्तकृत, विपन्न दलित, अशक्त तथा लोपोन्मुख नागरिकहरुलाई सामाजिक न्यायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (सामाजिक न्याय)– २०८० र गढवा गाउँपालिकाको कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसाय संरक्षण, प्रवद्र्धन, आधुनिकीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक (स्थानीय कृषि तथा पशुपंक्षी)– २०८० प्रस्तुत गर्नु भएको थियो ।
त्यसैगरी लेखा समिति संयोजक आशाराम चौधरीले लेखासमितिको प्रतिवेदनमा मालेपले औंल्याएको बेरुजु रकमको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत दुबै विधेयकमा अर्को गाउँसभाको बैठमा सदस्यहरुले राय सुझाव तथा संशोधनसम्बन्धी प्रस्ताव पेश गर्न सक्ने बताइएको छ ।
गढवा गाउँपालिका गाउँसभाको १४औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शाखा प्रमुखहरू लगायतकाको उपस्थिति रहेको थियो ।
