• ट्रेण्डिङ्ग :
भारतको पटाखा कारखानामा भएको विस्फोटमा नौ जनाको मृत्यु, १६७ जना घाइते

भारतको पटाखा कारखानामा भएको विस्फोटमा नौ जनाको मृत्यु, १६७ जना घाइते


  • 3.0K
    SHARES
    • माघ २३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.6K Views

    भारतको पटाखा कारखानामा भएको विस्फोटमा नौ जनाको मृत्यु, १६७ जना घाइते

    मध्यप्रदेश । भारतमा मङ्गलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विस्फोटमा परी अन्य १६७ जना घाइते भएका छन् । 

    images

    भारतीय टेलिभिजनको फुटेजमा पटाका कारखानामा विस्फोटपछि आगोको ज्वाला उठेको देखिएको छ र घाइतेलाई निकाल्नका लागि दर्जनौँ एम्बुलेन्स पठाइएको छ भने सेनाको हेलिकप्टरलाई समेत बोलाइएको छ । 

    वरिष्ठ जिल्ला प्रहरी अधिकारी राजेश्वरी महोबियाले मध्य प्रदेश राज्यको हरदामा कारखानामा भएको विस्फोटमा अहिलेसम्म नौ जनाको मृत्यु र करिब १६७ जना घाइते भएको जानकारी दिए । उनले मृतकको सङ्ख्या बढ्नसक्ने बताए । कारखाना स्थलका तस्बिरहरूले कालो धुवाँसहितको भग्नावशेष देखाएका छन् । 

    मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले विस्फोटको खबर ‘अत्यन्त दुःखद’ भएको र नजिकैका अस्पतालहरूका बर्न युनिटका चिकित्सकहरूलाई ‘आवश्यक तयारी’ गर्न बोलाइएको बताए । उनले सामाजिक सञ्जाल एक्समा भने, “नजिकैका क्षेत्रहरूबाट हरदामा एम्बुलेन्स लगिएको छ र हेलिकप्टरको व्यवस्था गर्नका लागि सेनासँग सम्मपर्क गरिएको छ ।” उनका अनुसार घटनास्थलमा कम्तीमा २० एम्बुलेन्स रहेको र घाइतेलाई सहयोग गर्नका लागि थप ५० एम्बुलेन्स पठाइएको छ । 

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “मानिसहरूको मृत्युले म दुःखी छु ।” उनले मृतकका परिवारलाई क्षतिपूर्तिका रूपमा दुई हजार चार सय अमेरिकी डलर र घाइतेहरूलाई छ सय डलर दिइने बताए । 

    भारतमा पटाका कारखानामा प्राय विस्फोट भइरहन्छन् । विशेषरूपमा हिन्दूहरूको पर्व दीपावलीको समय र विवाह समारोहमा प्रयोग गर्न भारतमा पटाका अत्यन्त लोकप्रिय छ । यद्यपि धेरै कारखाना आधारभूत सुरक्षा आवश्यकताहरू पालना गर्न र अनुमतिसहित सञ्चालन गर्न असफल छन् । 

    सन् २०१९ मा पञ्जाब राज्यको बटालामा एक पटाका कारखानामा भएको विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । सोही वर्ष उत्तर प्रदेशको भदोहीमा अन्य १० जना मारिएका थिए । 


    तेस्रो आँखा