• ट्रेण्डिङ्ग :
घरमै पुगेर जन्म दर्ता  

घरमै पुगेर जन्म दर्ता  


  • 4.5K
    SHARES
    • फाल्गुण ३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.9K Views

    घरमै पुगेर जन्म दर्ता  

    इलाम ३ फागुन/इलामको सूर्योदय नगरपालिका– ५ ले घरमै पुगेर जन्म दर्ता गराउन थालेको छ । बच्चा जन्मिएको ३५ दिन भित्रमै जन्म दर्ता हुनेको सङ्ख्या शतप्रतिशत गराउने उद्देश्यले वडा कार्यालयले घरमै पुगेर जन्म दर्ता गराउन थालेको हो ।

    images

    वडा नं। ५ र समालबुङ स्वस्थ्य चौकीको समन्वयमा बच्चा जन्मिएको घरमै स्वास्थ्यकर्मी घरघरमै पुगेर बच्चाको विवरणसहित फोटो खिचेर लिएर आउने र वडा कार्यालयले सम्पूर्ण प्रक्रिया पूरा गरी सम्बन्धित व्यक्तिलाई घरमै गएर दिइने व्यवस्था गरिएको वडा अध्यक्ष उर्गेन बम्जनले जानकारी दिनुभयो । उहाँका अनुसार भविष्यमा जन्मदर्ताको समस्या नहोस् भनेर यो अभियान थालिएको हो । उहाँले भन्नु भयो, ‘‘बच्चा जन्मिएर पनि ३५ दिनभित्रमा वडा कार्यालयमा जन्म दर्ता नगरेको पाइए पछि हामीले यो अभियान थालेका हौ ।’’

    अभियाको सुरुको दिन बिहीबार वडाध्यक्ष बम्जनले दुई सुत्केरीका घरमै पुगेर जन्म दर्ता उपलब्ध गराउनुभएको छ । स्थानीय वर्षा शङ्कर र केशव बुढाथोकीको घरमा गएर उहाँले जन्मदर्ता घरमा उपलब्ध गराउनु भएको हो । श्रीमान विदेशमा हुनुभएका वर्षा शङ्करले घरमै आएर वडाले सेवा दिँदा साँच्चै स्थानीय सरकारको उपस्थिति भएको महसुस भएको बताउनुभयो ।

    वडाले विवरणका आधारमा ३५ दिन भित्रमै जन्मदर्ता घरमै पुर्‍याइदिने व्यवस्था गरेको छ । जसका लागि स्थानीय वडा कर्मचारी, स्वास्थ्य कर्मचारीका लागि अभिमुखीकरण  सम्पन्न गरेको छ । गत साल वडामा ३९ जना बच्चा जन्मिएकोमा दुई जनाले मात्र ३५ दिन भित्रमा वडामा जन्मदर्ता गराएका थिए ।

    वडाध्यक्ष बम्जनले उमेर घटबढ गराउन, नाम परिवर्तन गर्न र जनचेतनाको कमीका कारण ३५ दिन भित्रमा जन्मदर्ता नगर्ने गरेको पाइएको जानकारी दिनुभयो । स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीले पिएमसी भिजिट गर्दा कुन घरमा बच्चा जन्मिएको हो भन्ने थाहा पाएपछि विवरण लिने गरिएको छ । वडा नं। ५ गत साल सूर्योदय नगरपालिकाका १४ वटा वडामध्ये सबैभन्दा बढी घटना दर्ता गराउने वडामा परेको थियो ।


    तेस्रो आँखा