चितवन । चितवनमा पासपोर्ट (राहदानी) का लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनेकोे संख्या बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७९/८० को तुलनामा चालू आर्थिक वर्ष २०८०/८१ मा पासपोर्टका लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनेको संख्या बढ्दै गएको हो । जिल्ला प्रशासन कार्यालय चितवनको राहदानी विभागमा रहेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को माघसम्म १८ हजार ५७६ जनाले पासपोर्ट बनाउन आवेदन दिदाँ आर्थिक वर्ष २०७९/८० को माघसम्म ११ हजार ८०६ जनाले पासपोर्टका लागि आवेदन दिएका थिए । जुन संख्या सात हजारले बढी हो । फागुनको १ गतेदेखि हिजो ९ गतेसम्म ७४३ जनाले आवेदन दिएका छन् भने ९८२ जनालाई पासपोर्ट बितरण भएको छ ।
त्यस्तै विभागले दिएकोे तथ्यांकमा गत आर्थिक वर्ष २०७९/८० मा २६ हजार ५६२ जनाले पासपोर्टको लागि आवेदन दिदाँ आर्थिक वर्ष २०७८/७९ मा १३ हजार ६५० ले आवेदन दिएका थिए । जुन संख्या आर्थिक वर्ष २०७८/७९ को भन्दा २०७९/८० मा ४८ प्रतिशतले बढ्न गएको हो ।
उक्त तथ्यांक अनुसार प्रशासनले चालु आवको फागुन ९ गते सम्म १७ हजार ४८८ जनाको पासपोर्ट वितरण गरेको छ । गत आव २०७९/८० को माघसम्म जम्मा १० हजार ८४० जनालाई पासपोर्ट वितरण गरेको छ । तर, गत आवमा भने विभागले जम्मा २३ हजार ५८ जनाको पासपोर्ट वितरण गरेको थियो । त्यस्तै आव २०७८/७९ मा पनि विभागले १४ हजार ८९५ जनाकोे पासपोर्ट वितरण गरेको तथ्यांकमा उल्लेख छ ।
विगत १० वर्ष सम्म कुनै देशको भिषा नलागेपनि पासपोर्ट नविकरण गर्न आएका कालिका नगरपालिका–७ का मुकेश पौडेलले मिडिया खोल्दा देशमा यो छैन/त्यो छैन भन्ने समाचार आउँने भन्दै निराशा व्यक्त गरे । उनले आफूले जतिबेला पनि विदेश जानपर्न सक्छ भनेर पासपोर्ट नविकरण गर्न आएको बताए । उनले विदेशिने युवालाई रोक्न नेपालमा उत्पादन हुने वस्तुको उत्पादन अझै बढाउँदै लैजानुपर्ने विचार राखे ।
त्यस्तै पासपोर्ट नविकरणका लागि आएका चितवनका व्यापारी नवराज पौडेलले नेपालको राज्य, सरकारी निकायहरु नियममा चल्न नसक्दा युवा विदेश जान बाध्य भएको बताए । एकैपटक सबै परिवर्तन गर्न नसकिए पनि सानो सानो प्रयासबाट सबै सम्भव हुने बताउँदै उनले भने, ‘राज्य यसप्रति उत्तरदायी हुनपर्छ, राज्यका नियमलाई व्यवस्थित तरिकाले पालना गर्नुपर्छ र सरकारी निकायमा जनताले सेवा भन्दा बढी कठिनाई पाउने भएकोले यसलाई पनि सहज वातावरण बनाउनुपर्छ ।’
पूजा ढकाल
